फाइल तस्बीर ।
मलंगवा, २१ फागुन – सर्लाहीमा माध्यमिक शिक्षा परीक्षा (एसइइ) को तयारी अघि बढाइएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाका प्रमुख एवं उपसचिव तारापति खरेलले एसइइ सञ्चालनका लागि तयारीका काम धमाधम भइरहेको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा रहेको जिल्ला परीक्षा समन्वय समिति सर्लाहीको फागुन ६ गते बसेको बैठकले एसइइलाई व्यवस्थित र मर्यादित बनाउन तयारीका काम अघि बढाउने निर्णय गरेको थियो ।
एसइइ सञ्चालनका लागि सर्लाहीमा ३८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । गत वर्षकै परीक्षा केन्द्रलाई यो वर्ष पनि निरन्तरता दिइएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख खरेलले बताए ।
एसइइमा सामेल हुन सर्लाहीबाट यो वर्ष १२ हजार ३२ जना परीक्षार्थीले फारम भरेका शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । ती परीक्षार्थी अहिले परीक्षाको तयारीमा ब्यस्त छन् । एसइइका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र अन्य कर्मचारीको छनौट तथा उनीहरुलाई तालिम प्रदान गर्न बाँकी छ ।
परीक्षाको केही दिनअघि कर्मचारी छनौट तथा आवश्यक तालिम प्रदान गरिने इकाइका प्रमुख खरेलले जानकारी दिए । एसइइका लागि शिक्षा विकास तथा समन्वय इकाइमा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरबाट उत्तरपुस्तिका प्राप्त हुनासाथ सम्वन्धित परीक्षा केन्द्रमा ढुुवानी गरिने छ ।
प्रश्नपत्र भने परीक्षा सुरुहुनुु भन्दा एक÷दुुई दिनअघि परीक्षा केन्द्र नजिकको प्रहरी कार्यालयमा पठाइने छ । यस वर्षको एसइइ आगामी चैत ७ गतेबाट सुरु हुुँदै छ ।