चन्द्रनगर गाउँपालिकाको कार्यालय ।
नाढीमन, २० फागुन – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सर्लाहीको चन्द्रनगर गाउँपालिकामा इन्जिनियर राजेशकुमार यादवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ ।
मन्त्रालयले हिजो पत्र पठाएर अर्को व्यवस्था नहुन्जेलसम्मका लागि इन्जिनियर यादवलाई आर्थिक अधिकारसहितको जिम्मेवारी प्रदान गरेको हो । यादवलाई आज नाढीमन तालस्थित गाउँपालिकाको कार्यालयमा अध्यक्ष राजकुमार महतो, अन्य जनप्रतिनिधि र कर्मचारीले फूलमाला र अविर लगाएर बधाई तथा शुुभकामना व्यक्त गरेका छन् ।
शाखा अधिकृत वकिलप्रसाद पाल सरुवा भएर गएपछि चन्द्रनगर प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको थियो । गाउँपालिका अध्यक्ष राजकुमार महतोले पाल आर्थिक अनियमिततामा संलग्न रहेको भन्दै सरुवाको माग गरेका थिए ।
सर्लाहीमा अझै केही पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका छन् ।
मन्त्रालयले हरिपुरमा शाखा अधिकृत विनय पौडेललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ भने लेखापाल प्रतिक कार्कीले प्रमुख प्रशासकीय अधिकृत भएर कामकाज गर्दै आइरहेको हरिवन नगरपालिकामा भर्खरै उपसचिव हेमराज फूँयाललाई पठाइएको छ ।