महायज्ञबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन । (तस्बीर : उज्यालो अभियान)
हरिवन, १७ फागुन – सर्लाहीको हरिवन नगरपालिका–९, दनुवारीमा मानवसेवा आश्रमको भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउन महायज्ञ आयोजना गरिने भएको छ ।
मूल आयोजक समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी फागुन २२ गतेदेखि २९ गतेसम्म सुर्ती विकास खेल मैदान हरिवनमा श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजना गरिएको औपचारिक जानकारी दिएको हो । मानव सेवाश्रमको सर्लाही शाखा अहिले हरिवन नगरपालिका–१, कैलाशपुरीमा नगरपालिका कार्यालयले उपलब्ध गराएको ज्येष्ठ नागरिक भवनबाट सञ्चालन भइरहेको छ । आश्रमको हरिवन नगरपालिका–९, दनुुवारीमा आफ्नै भवन निर्माण गर्न सुरु गरिए पनि आर्थिक अभावका कारण अलपत्र अवस्थामा रहेको छ ।
उक्त भवनको निर्माण कार्य पूरा गर्ने मुख्य उद्देश्यसहित महायज्ञ आयोजना गरिएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । दनुुवारीमा निर्माणाधीन भवनमा हालसम्म एक करोड रुपियाँ खर्च भइसकेको अधिकारीले बताएका छन् ।
भवनको निर्माण कार्य सम्पन्न गर्न अझै ११ करोड रुपियाँ आवश्यक पर्ने देखिएको छ । महायज्ञबाट भवन निर्माणका लागि आवश्यक रकम सङ्कलन हुने अपेक्षा गरिएको अध्यक्ष अधिकारीले बताएका छन् ।
आश्रममा अहिले ६० जना आश्रीत रहेका र आफ्नै भवन निर्माणपश्चात १५० जनासम्म सडक आश्रीत मानवलाई सेवा प्रदान गर्न सक्ने क्षमता राख्ने मानवसेवा आश्रमले जनायो । मानवसेवा आश्रमको हरिवनमा रहेको आश्रमले हालसम्म २९९ जना सडक आश्रीत मानवको उद्धार गरी २२९ जनालाई पारिवारिक पुनर्मिलन समेत गराइसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
महायज्ञ मूल आयोजक समितिका अध्यक्ष माधव थापाले महायज्ञबाट सङ्कलन भएको सम्पूर्ण रकम अधुरो भवनको निर्माण कार्य पूरा गराउन खर्च गरिने बताए । उनका अनुसार हरेक मानवतावादी मनहरुबाट नगद र जिन्सी दुवै सहयोग स्वीकार गर्ने निर्णय भएको छ ।
महायज्ञमा हरेक दिन बिहान योग शिविर तथा विद्यार्थीलाई उत्पे्ररणात्मक कार्यक्रम गर्ने तयारी गरिएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष अधिकारीले बताए । मानवसेवा आश्रमका लागि आयोजना गरिने यस प्रकारको महायज्ञमा प्रमुख कथावाचक भागवत भाष्कर कमलनयन गौतमले कुनै प्रकारको दक्षिणा र शुल्क नलिइ कथावाचन गर्दै आएका छन् ।
पत्रकार सम्मेलनमा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) ले हाताहाती पुण्य कमाउने काममा सबै जुट्नुुपर्नेमा जोड दिए । नगरप्रमुख बुढाथोकीले हरिवन नगरपालिकालाई सडक मानवमुक्त नगरपालिका घोषणाको तयारी समेत भइरहेको उल्लेख गरेका छन् ।
नगर उपप्रमुख हरिमाया घलानले महायज्ञको उद्देश्य पूरा गराउन सबैले सहयोग गर्न आवश्यक रहेको बताईन् ।
त्यस्तै नेपाल पत्रकार महासङ्घ सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुर र महासङ्घकै पूर्व जिल्ला अध्यक्ष विश्वनाथ ठाकुरले मानवसेवाको भावले आयोजित महायज्ञलाई सफल बनाउन पत्रकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
महायज्ञलाई सफल बनाउन मनकारी व्यक्ति, सङ्घसंस्था, स्थानीय तह, प्रदेश तथा सङ्घ सरकार, जनप्रतिनिधि, राजनीतिज्ञलगायत सबैलाई अनुरोध गरिएको मानवसेवा आश्रमले जनाएको छ । मूल आयोजक समितिले महायज्ञलाई सफल बनाउन आवश्यक तयारी तथा प्रचारप्रसारको काम तीव्र रुपमा अघि बढाएको छ ।