चिताईन, १५ फागुन – सर्लाहीको हरिपुर ७ चिताइनमा आजबाट सुरु भएको अन्तर प्रदेशस्तरीय भलिबल प्रतियोगितामा सर्लाही र धनुषाले बिजयी सुरुवात गरेका छन् ।
उद्घाटन खेलमा आयोजक सर्लाहीले सिन्धुलीलाई २–० को सोझो सेटमा र दोस्रो खेलम धनुषाको मिथिला बिहारी नगरपालिकाले जिल्ला भलिबल संघ महोत्तरीलाई २–० को सोझो सेटमा पराजित गरेका हुन् । प्रतियोगिताको आज दिउँसो मधेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायले उद्घाटन गरेका कार्यक्रम संचालक चेतनारायण धामीले जानकारी दिए ।
क्लबका अध्यक्ष नरहरि धामीको अध्यक्षतामा आयोजित भलिबल खेलको उद्घाटन समारोहमा सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरी, संविधान सभा सदस्य रामचन्द्र चौधरी, हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियार, ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यलगायतको आतिथ्यता रहेको थियो ।
फागुन १८ गतेसम्म चल्ने प्रतियोगितामा ९ वटा टिमको सहभागिता रहेको छ । बिजेताले १ लाख र उपबिजेताले ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजक लक्ष्मीनाथ यूवा क्लब चिताईनले जनाएको छ ।
प्रतियोगितामा महिला भलिबल प्रतिस्पर्धा समेत गराइने हरिपुर ७ का वडाध्यक्ष मनोजकुमार चौधरीले बताए ।