महाशिवरात्रिका लागि लालबन्दीस्थित अक्लेश्वर महादेव डुमडुमे मन्दिर सरसफाई गरिँदै । (तस्बीर : उज्यालो अभियान)
हरिपुर, १३ फागुन – सर्लाहीका शिवालयमा महाशिवरात्रि पूजाको तयारी पूरा भएको छ ।
जिल्लाका २० वटै पालिकामा रहेका दर्जनौँ महादेव मन्दिरमा भोली बुधबार हुने महाशिवरात्रि पूजाको तयारी पूरा भएको हो । यहाँको ऐतिहासिक धार्मिकस्थल हरिपुर नगरपालिका–७, चिताइनस्थित लक्ष्मीनाथ महादेव मन्दिर परिसरमा महाशिवरात्रिको तयारी पूरा भएको लक्ष्मीनाथ महादेव विकास समितिका अध्यक्ष राजेन्द्र धामीले जानकारी दिए ।
प्रत्येक वर्ष महाशिवरात्रिको दिन चिताइनको यस मन्दिरमा भान्टाको भार र धानको मट्का (मौर) चढाउनेको अत्यधिक भीड लाग्ने गरेको छ । चर्मरोग निको हुने र मनोकाक्षा पूरा हुने विश्वाससहित महाशिवरात्रिको दिन बिहान तीन/चार बजेदेखि नै मन्दिर दर्शन गर्ने, भान्टाको भार तथा मौर चढाउनेको भीड लाग्ने गरेको मन्दिर विकास समितिका अध्यक्ष धामीले बताए । उनका अनुसार भोली महाशिवरात्रिको दिन मात्रै सर्लाही जिल्लाभरसहित नजिकका विभिन्न जिल्ला र भारतबाट समेत गरी करिव ५० हजार जनाले मन्दिरको दर्शन तथा अवलोकन गर्ने अनुमान गरिएको छ ।

महाशिवरात्रिलाई लक्षित गरी हरिपुरको चिताइन मन्दिर परिसरमा बिक्री गर्न राखिएका विभिन्न प्रकारका मिठाईहरु । (तस्बीर : उज्यालो अभियान)
मन्दिर परिसरमा सुरक्षाका लागि अघिल्ला वर्षमा झैँ नेपाल प्रहरी परिचालनसहित यो वर्ष सीसी क्यामेरा समेत जडान गरिएको मन्दिर विकास समितिले जनायो । हरिपुर नगरपालिकाले महाशिवरात्रिको अवसरमा पर्सी बिहीबारका लागि स्थानीय बिदा दिएको छ ।
भोली देशैभर सार्वजनिक बिदा रहेपनि हरिपुर नगरपालिकाले भने महाशिवरात्रिको अवसरमा ऐतिहासिक चिताइन मेला समेत लाग्ने भएकाले बिहीबार थप एक दिन स्थानीय बिदा दिने निर्णय गरेको नगरप्रमुख गोपाल पजियारले सूचना जारी गरी जानकारी दिएका छन् ।
चिताइनबाहेक सर्लाहीको सागरनाथ महादेव मन्दिर सागरनाथ, अक्लेश्वर महादेव डुमडुुमे मन्दिर लालबन्दी, चतुुर्भूजेश्वर महादेव मन्दिर सुखेपोखरी, कैलाशपुरी महादेव मन्दिर हरिवन, मुक्तेश्वर बाबाधाम मुर्तियासहित गाउँ–गाउँमा रहेका महादेव मन्दिरमा उत्साहका साथ महाशिवरात्रि मनाउने तयारी रहेको स्थानीयका बताएका छन् । भोलीको महाशिवरात्रिलाई मध्यनजर गर्दै लालबन्दी ७ स्थित अक्लेश्वर महादेव मन्दिर डुमडुमे परिसरमा आज नगर प्रहरीलगायतको उपस्थितिमा सरसफाई गरिएको वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले बताए ।
जिल्लाका सुरक्षा निकायले महाशिवरात्रिलाई लक्षित गरी सुरक्षा सावधानी अपनाइएको जनाएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईले प्रत्येक शिवालयमा प्रहरीले सुरक्षा पहरा दिने बताए ।