कडा सुरक्षाघेरामा २०८० पुस २६ गते सर्लाही जिल्ला अदालत मलंगवामा पेश गर्न ल्याईएका ‘तपस्वी’ राम बहादुर बम्जन । (तस्बिर : उज्यालो अभियान)
मलंगवा, १७ असार – पूर्पक्षका लागि महोत्तरी कारागारमा रहेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा पीडित बालिकालाई ५ लाख क्षतिपूर्ति भराउने फैसला भएकाे छ ।
साेमबार सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवन कुमार भण्डारीकाे ईजलासले अभियुक्त बम्जन विरुद्ध त्यस्ताे फैसला गरेकाे सर्लाही जिल्ला अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । न्यायाधिश भण्डारीकै गत असार १० गतेकाे ईजलासले तपस्वी बम्जनलाई कसुरदार ठहर गरेकाे थियाे । आजकाे ईजलासले पूर्ण फैसला गरेकाे हाे । अभियुक्त बम्जन विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले भने १२ देखि १४ वर्ष सम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदावी सहित अभियोग पत्र दायर गरेको थियाे ।
सर्लाही जिल्ला अदालतका न्यायाधिश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानकाे आदेश दिएपछि बम्जन हाल महाेत्तरी कारागार जलेश्वरमा रहेका छन् ।
सर्लाही जिल्ला अदालतले २०७७ साल असार २१ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा बम्जनलाई काठमाडाैंकाे बुढानिलकण्ठ नगरपालिका-६ स्थित निवासबाटै गत पुस २४ गते मंगलबार साँझ सीआईबीको टोलीले पक्राउ गरेको थियो । २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा बारा जिल्लाको निजगढ नगरपालिका-१२ निवासी ३० वर्षीय बम्जन विरुद्ध पीडित बालिकाकाे परिवारले किटानी जाहेरी दिएकाे थियाे ।
के थियाे बम्जन विरुद्धकाे अभियाेग ?
अभियुक्त बम्जन विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले १२ देखि १४ वर्ष सम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदावी सहित अभियोग पत्र दायर गरेको जिल्ला न्यायाधिवक्ता कैलाश दाहालले जानकारी दिए । बालबालिका सम्बन्धी ऐन २०७५ को ६६ को ३ ले यौन सन्तुष्टि प्राप्त गर्ने बालबालिकालाई प्रयोग गर्ने गराउने, बाल यौन शोषण गर्ने गराउने कसुर गर्यो भने दफा ७२ को ३ को ६ ले प्रचलित कानुन वमोजिम जवर्जस्ती करणीको कसुरमा कसुरदारलाई सजाय हुनेछ भन्ने तथा त्यही मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ ग बमोजिम जिल्ला सरकारी वकिल कार्यालयले अभियोग लगाएको छ । १४ वर्ष भन्दा बढी र १६ वर्ष भन्दा कम उमेरको बालिका भए १२ देखि १४ वर्षसम्म कैद हुनसक्ने कानूनी व्यवस्थालाई टेक्दै जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको छ ।
जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले सर्लाही जिल्ला अदालतमा बम्जन विरुद्ध दायर गरेको अभियोग पत्रमा भनिएको छ, ‘प्रतिवादी राम बहादुर बम्जन भन्ने रामलाल बम्जनले १४ वर्ष भन्दा बढी १६ वर्ष भन्दा कम उमेरकी बालिकालाई यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण गर्ने उक्त कार्य बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६(३)(छ) र (ज) बमोजिमको र प्रतिवादीहरु तोप्चेङ महात्मा गुरु भनी चिनाउने ज्ञान कुमार बम्जन र जे.बी. गुरु भन्ने जीत बहादुर तामाङले कसुरदारलाई भगाउने, लुकाउने गरेको कार्य मुलुकी अपराध संहिता, २०७४ को दफा ३६(१) र (२) बमोजिमको कसुर गरेको वारदात पुष्टि हुन आउँछ ।’
याे पनि पढ्नाेस्
तपस्वी बम्जनलाई खोज्दै सर्लाही प्रहरी, पत्थरकोट आश्रममा भेटिएनन