logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

कति वर्ष जेल पर्न सक्छन् ‘तपस्वी’ बम्जन ?


  • उज्यालो अभियान

विहिबार बिहान सर्लाही जिल्ला अदालतमा ल्याईएका ´तपस्वी` राम बहादुर बम्जन (सेताे ज्याकेट लगाएका) । (तस्बिर : उज्यालाे अभियान)

टंक बहादुर क्षेत्री/मलंगवा, २६ पुस – ‘तपस्वी’ रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई प्रहरीले विहिबार बिहान सर्लाही जिल्ला अदालत पेश गरेकाे छ ।

विभिन्न जिल्लाहरुमा आश्रम खोलेर अनुयायीमाथि बलात्कार, हत्या तथा वेपत्ता पारेको आरोप लागेका बम्जनलाई बुधबार राति कडा सुरक्षाकाबिच नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सडक मार्ग हुँदै सर्लाही ल्याएको हाे । बम्जनलाई बुधबार दिउँसो प्लेनमार्फत जनकपुर वा सिमरा हुँदै सर्लाही ल्याउने तयारी गरिए पनि मौसम प्रतिकुल रहेकाले विमान आउने/नआउने अनिश्चित भएपछि राति नै सडक मार्ग भएर ल्याइएको प्रहरी स्राेतले जनायाे । उनलाई विहिबार बिहान २ बजे मलंगवा स्थित जिल्ला प्रहरी कार्यालयमा सीआईबीको टोलीले ल्याई पुर्याएको थियो ।

सर्लाही जिल्ला अदालतले २०७७ साल असार २१ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा बम्जनलाई बुढानिलकण्ठ नगरपालिका-६ स्थित निवासबाटै गत मंगलबार साँझ सीआईबीको टोलीले पक्राउ गरेको थियो । २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा बारा जिल्लाको निजगढ नगरपालिका-१२ निवासी ३० वर्षीय बम्जन विरुद्ध सर्लाहीको बागमती नगरपालिका-१२ निवासी १८ वर्षीया प्रहरीको कोड नाम अनुसार कि (क) की आमाले किटानी जाहेरी दर्ता गराएकी थिईन् । ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा बम्जनविरुद्ध पक्राउ पुर्जी जारी भएको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले बताए ।

यस्तो छ बम्जन विरुद्धको अभियोग पत्र

अभियुक्त बम्जन विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले १२ देखि १४ वर्ष सम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदावी सहित अभियोग पत्र दायर गरेको जिल्ला न्यायाधिवक्ता कैलाश दाहालले जानकारी दिए । बालबालिका सम्बन्धी ऐन २०७५ को ६६ को ३ ले यौन सन्तुष्टि प्राप्त गर्ने बालबालिकालाई  प्रयोग गर्ने गराउने, बाल यौन शोषण गर्ने गराउने कसुर गर्यो भने दफा ७२ को ३ को ६ ले प्रचलित कानुन वमोजिम जवर्जस्ती करणीको कसुरमा कसुरदारलाई सजाय हुनेछ भन्ने तथा त्यही मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ ग बमोजिम जिल्ला सरकारी वकिल कार्यालयले अभियोग लगाएको छ ।  १४ वर्ष भन्दा बढी र १६ वर्ष भन्दा कम उमेरको बालिका भए १२ देखि १४ वर्षसम्म कैद हुनसक्ने कानूनी व्यवस्थालाई टेक्दै जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले सर्लाही जिल्ला अदालतमा बम्जन विरुद्ध दायर गरेको अभियोग पत्रमा भनिएको छ, ‘प्रतिवादी राम बहादुर बम्जन भन्ने रामलाल बम्जनले १४ वर्ष भन्दा बढी १६ वर्ष भन्दा कम उमेरकी बालिकालाई यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण गर्ने उक्त कार्य बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६(३)(छ) र (ज) बमोजिमको र प्रतिवादीहरु तोप्चेङ महात्मा गुरु भनी चिनाउने ज्ञान कुमार बम्जन र जे.बी. गुरु भन्ने जीत बहादुर तामाङले कसुरदारलाई भगाउने, लुकाउने गरेको कार्य मुलुकी अपराध संहिता, २०७४ को दफा ३६(१) र (२) बमोजिमको कसुर गरेको वारदात पुष्टि हुन आउँछ ।’

अब दसी प्रमाण अर्थात मिसिलका आधारमा ईजलास पर्ने जिल्ला न्यायाधिशले के आदेश गर्नेछन्, त्याे भने पर्खनै पर्नेछ ।

याे पनि पढ्नाेस्

´तपस्वी` बम्जनलाई सर्लाही जिल्ला अदालत लगियाे

कुन ‘श्रीमान’को भागमा पर्लान अभियुक्त ‘तपस्वी’ बम्जन ?

‘तपस्वी’ बोम्जनलाई सर्लाही ल्याइयो, आज अदालत पेश गरिने