logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाही ल्याएपछि रामबहादुर बम्जनमाथि कसरी हुन्छ अनुसन्धान ?


  • उज्यालो अभियान

रामबहादुर बम्जन ।

मलंगवा, २५ पुस – ‘तपस्वी’ रामबहादुर बम्जनलाई सर्लाही ल्याउनासाथ अदालत समक्ष पेश गरिने भएको छ ।

अनुयायी बेपत्ता पारेको आरोप लागेका बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले मंगलबर साँझ काठमाडौँको बुढानिलकण्ठबाट पक्राउ गरेको थियो । सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण धितालले बम्जनलाई यहाँ ल्याएपछि सर्लाही जिल्ला अदालतमा हाजिर गराउने जानकारी दिए ।

सीआईबीले बुधबार दिउँसो पत्रकार सम्मेलन गरेपछि बम्जनलाई सर्लाही पठाउने बताइए पनि एसपी धितालले कहिले यहाँ पठाउने भन्ने जानकारी नआएको बताए । “सीआइबीले प्रारम्भिक अनुसन्धान गरेपछि हामीलाई बुझाउला तर कहिले बुझाउने हो भन्ने जानकारी गराइसकेको छैन्,” एसपी धितालले उज्यालो अभियानसँग भने, “यहाँ ल्याएपछि त हामी सोझै अदालतमा हाजिर गराउछौँ ।”

लालबन्दी १२ स्थित स्याङ्बो डाँडामा रहेको बम्जनको आश्रम । (तस्बीर : उज्यालो अभियान)

बम्जनविरुद्ध २०७७ साल असार २१ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा बम्जनविरुद्ध पक्राउ पुर्जी जारी भएको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।

प्रहरीले बम्जन फरार रहेको भनी मुद्दा चलाएको र उनलाई अदालतमा हाजिर गराएपछि इजलाश समक्ष प्रस्तुत गरिने श्रेस्तेदार अधिकारीले उज्यालो अभियानसँग बताएका छन् । “हामी कहाँ ल्याएपछि इजलाश समक्ष पेश गछौँ,” श्रेस्तेदार अधिकारीले भने, “गोलाप्रथाबाट जो श्रीमान (न्यायाधीश) को इजलाशमा पर्छ उहाँले नै सो मुद्दा हेर्नुहुन्छ ।”

बागमती नगरपालिकाकी १८ वर्षीया कि (क) लाई १५ वर्षकाे उमेरमै याैन सन्तुष्टि प्राप्त गर्ने तथा बाल याैन शाेषण मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले २०७७ असार १८ गते सर्लाही जिल्ला अदालतमा अभियाेग पत्र दायर गरेकाे थियाे । पीडितकी आमाले दिएकाे किटानी जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियाेग पत्र दायर गरेकाे हाे ।

बम्जन सर्लाहीको चुरेभेगस्थित लालबन्दी नगरपालिका–१२, पत्थरकोट स्याङ्बो डाँडास्थित आश्रममा पनि केही वर्ष बसेका थिए । स्थानीयका अनुसार बोम्जनको आश्रम अहिले सुनसान छ ।

कहिलेकाँही केही अनुयायी आउजाउ गर्ने गर्छन् । बम्जनविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सर्लाही प्रहरीले पत्थरकोटमा रहेको सो आश्रममा पटक-पटक छापा मारेको थियो ।