logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

यात्रु ओसार्न भ्याइनभ्याइ, दोहोरो ‘टिप’ गर्दै साना सवारी


  • उज्यालो अभियान

लालबन्दी – दशैँमा काठमाडौंदेखि यात्रु ओसार्नका लागि सर्लाहीबाट चल्ने गाडीले दोहोरो ‘टिप’ गर्न थालेका छन् ।

बिहान काठमाडौंबाट यात्रु लिएर आउने गाडी दिउँसो यहाँ यात्रु ओरालेर फेरि काठमाडौं नै फर्किएर जाने गरेका छन् । अरुबेला काठमाडौंबाट यात्रु लिएर आएपछि भोलीपल्ट बिहान मात्रै यताबाट यात्रु लिएर फर्किने गरेका सुमो, विङ्गर, हायसजस्ता साना गाडी अहिले दशैँमा भने तुरुन्त काठमाडौं नै फर्किने गरेका हुन् ।

दिउँसो २÷३ बजे यहाँ यात्रु ओरालेर फर्किने गाडी राति ८÷९ बजेसम्म काठमाडौं पुगेर भोलीपल्ट पुनः यात्रु लिएर आउने गरेका छन् । लालबन्दी बजारस्थित विजय काउण्टरका सञ्चालक विजय लामाले दशैँभर अब साना गाडीले दोहोर टिप गर्ने बताए ।

लामाका अनुसार अघिल्ला वर्षमा जस्तो यो वर्ष अहिलेसम्म काठमाडौंबाट फर्किने यात्रुको चाप अत्यधिक देखिँदैन् । दोहोर टिप सुरु गरिएपनि यात्रु भने उल्लेख्य नरहेका लामाले गुनासो गरेका छन् ।

फूलपातीको दिनदेखि एक्कासी चाप बढ्न सक्ने अनुमान गरिएको उनले बताए । यहाँबाट फर्किएर जाँदा प्राय ः शुन्य यात्रु हुने र उताबाट आउँदा समेत उल्लेख्य यात्रु नहुँदा मार परिरहेको व्यवसायीको गुनासो छ ।

अहिले खासगरी विद्यालय तथा क्याम्पस विदा भएकाले विद्यार्थी र वैदेशिक रोजगारीबाट फर्किनेहरुको गाडीमा बढी चाप देखिन्छ । सरकारी कार्यालय फूलपातीदेखि बन्द हुने भएकाले फूलपाती, अष्टमी र नवमीका दिन गाडीमा धेरै नै भिड हुने बताइन्छ ।

अहिले दशैंको बेला काठमाडौंबाट आउने सवारीले भाडा बढाएका छन् । काठमाडौंबाट आउँदा अरुबेला एक हजारदेखि एक हजार १०० भाडा लिने सवारीले अहिले दशैँको मौका पारेर एक हजार २०० देखि एक हजार ५०० सम्म भाडा लिइरहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीका प्रमुख एवं प्रहरी निरीक्षक मदन थापाले चाडपर्वको बेला गाडी भाडामा यात्रु ठगिनु नपरोस् भनी गाडी रोकेर के–कति भाडा तिर्नुभयो ? भनी सोध्ने र ट्राफिक नियमको पालना गरिदिन अनुरोध गर्ने काम गरिरहेको बताए । उनले मानिस र सवारीको आवागमन बढ्ने चाडपर्वमा सवारी दुर्घटना न्यूनिकरणका लागि यात्रु, चालक, गाडीका कर्मचारीलगायतलाई पाँच हजार बढी पर्चा, पप्पलेट छापेर बाँड्ने काम गरिरहेको जानकारी दिए ।