logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा उल्लेख्य राहत संकलन, मनग्य नगद सहयोग


  • उज्यालो अभियान

बाढी पीडितका लागि लालबन्दीमा राहत संकलन गरिँदै । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी, १७ भदौ – भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीबाट रसुवा, नुवाकोटलगायत जिल्लामा पीडित भएकाहरुका लागि सर्लाहीमा राहत सङ्कलन कार्य आजसम्म पनि जारी नै रहेको छ ।

व्यक्ति तथा सङ्घसंस्थाले सोझै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगदसमेत जम्मा गरिरहेका छन् भने खाद्यान्न, खानेपानी र कपडा पनि तीव्र रुपमा सङ्कलन भइरहेको हो । पहाडी जिल्लामा भएको उक्त घटनाका पीडितका लागि मधेशको जिल्ला सर्लाहीका दर्जनौँ स्थानबाट स्वतस्फूर्तरुपमा राहत सङ्कलन तथा नगद जम्मा गर्नेक्रम चलिरहेको हो ।

सोहीक्रममा सर्लाहीको बागमती नगरपालिका–५, राजघाट बिहानी चोकमा रेडक्रस मुठ्ठी समूहले बाढी पीडितका लागि एक लाख १११ रुपियाँ सहयोग गरेको छ । मानवीय सेवाको भावनासहित सङ्कलन गरिएको उक्त रकम सोझै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको स्थानीय दीपेन्द्र मैनालीले जानकारी दिए ।

भोटेकोशी बाढी पीडितका लागि हरिवनमा केन्द्रीय कार्यालय रहेको सगुन बचत तथा ऋण सहकारी संस्था र संस्थामा कार्यरत कर्मचारीले पनि दुई लाख ५० हजार बढी सहयोग गरेका छन् । संस्थाका अध्यक्ष केशवप्रसाद ढकाल र प्रवन्धक रविन्द्र रानाले सूचना जारी गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संस्थाको तर्फबाट दुई लाख २२ हजार २२२ रुपियाँ र कर्मचारीहरुको तर्फबाट ३१ हजार रुपियाँ गरी दुई लाख ५३ हजार २२२ रुपियाँ जम्मा गरिएको जानकारी गराएका छन् ।

त्यस्तै शिवशक्ति बचत तथा ऋण सहकारी संस्था हरिपुर–२ ले भोटेकोशी बाढी पीडितका लागि ५० हजार रुपियाँ सहयोग गरेको संस्थाका सल्लाहकार विष्णु चालिसेले जानकारी दिए ।

ईश्वरपुर नगरपालिका–६, बयलवास बजारमा रहेको चमेली बचत तथा ऋण सहकारी संस्थाले संस्थाको सामाजिक उत्तरदायित्व कोष र कर्मचारीको एक दिनको पारिश्रमिकसमेत गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख पाँच हजार रुपियाँ सहयोग गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भरत साहले बताए ।

भदौ १० गतेको भीषण भोटेकोशी बाढीपछि रसुवा, नुवाकोटसहितका जिल्लामा ठुलो जनधनको क्षति भएसँगै सर्लाहीमा अहिले महिला समूह, सञ्जाल र सहकारी संस्थाले तीज विशेष तथा दरखाने कार्यक्रम स्थगित गरी सो रकम बाढी पीडितलाई सहयोग गरिरहेका छन् ।

बाढी पीडितका लागि सर्लाहीको मुख्य व्यापारिक केन्द्र लालबन्दी बजारमा विगत ३ दिनदेखि राहत सङ्कलन कार्य भइरहेको छ । मुख्य बजारमा बसेर खाद्यान्न, कपडा, ओढ्ने–ओछ्याउने, त्रिपाल, भाँडालगायतका सामग्री सङ्कलन गरिरहेको अभियानका नेतृत्वकर्ता एवं नेपाली कांग्रेसका नेता सीताराम दाहालले दिए ।

लालबन्दीमा अपेक्षाभन्दा पनि बढी मात्रामा राहत संकलन भइरहेको नेकपा एमालेका नेता विक्रम भण्डारीले बताए ।

बाढी पीडितका लागि सदरमुकाम मलङ्गवा, बयलवास, बरहथवासहितका ठाउँहरुमा पनि राहत सङ्कलन भइरहेका छन् । सदरमुकाम मलङ्गवामा तीन दिन लगाएर सङ्कलन गरिएको राहत सामग्री लिएर सर्लाही २ का प्रतिनिधि सभा सदस्य रवीन महतोसहितको टोली सोमबार बाढी प्रभावित क्षेत्रमा पुगेको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले मलङ्गवामा दोस्रो लटको राहत सङ्कलन कार्य जारी रहेको जानकारी दिए ।

बरहथवा नगरपालिकाका जनप्रतिनिधिले आफूहरुको सेवासुविधा बापतको १५ दिनको रकम भोटेकोशी बाढी पीडितका लागि प्रदान गर्ने भएका छन् । आज बसेको नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको नगरप्रमुख कल्पनाकुमारी कटुवालले जानकारी दिईन् ।

लायन्स क्लब लालबन्दी सिटीले पनि बाढी पीडितका लागि एक लाख ३० हजार रुपैयाँ सहयोग गरेको लायन्स क्लब इन्टरनेशनल ३२५ एच डिष्ट्रिकका एरिया को–अर्डिनेटर राजकुमार न्यौपानेले जानकारी दिए ।

त्यसैगरी जनज्योति माध्यमिक विद्यालय लालबन्दीको कक्षा १० (साइपाल) सेक्सनका विद्यार्थीले खाजाको रकम जोगाएर बाढी पीडितलाई सहयोग गरेका छन् ।

विद्यार्थी प्रिया ठाकुरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विद्यार्थीहरु भएर खाजाको पैसाबाट पाँच हजार ७१५ रुपियाँ जम्मा गरेको जानकारी दिईन् । विद्यार्थीहरु आफै राष्ट्रिय वाणिज्य बैङ्कको लालबन्दी शाखामा पुगेर रकम जम्मा गरेका हुन् ।

बागमती नगरपालिका–२, धरहरामा रहेको जन बालकल्याण माध्यमिक विद्यालयका विद्यार्थीले पनि खाजाको रकम जोगाएर बाढी पीडितका लागि १८ हजार ४५० रुपियाँ प्रदान गरेका छन् ।

यस्तै लालबन्दी थोक तरकारी बजारका व्यापारीहरु मिलेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ७० हजार रुपियाँ सहयोग गरिएको बजारका पूर्व अध्यक्ष एवं व्यापारी तोरनबहादुर मगरले जानकारी दिए ।