logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

गोडैता र मलंगवाबाट स्रोत नखुलेको साँढे १२ लाखसहित ५ जना पक्राउ


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)

मलंगवा – सर्लाही प्रहरीले स्रोत नखुलेको साँढे १२ लाख रुपैयाँसहित सर्लाहीका दुई छुट्टाछुट्टै ठाउँबाट पाँच जनालाई पक्राउ गरेको छ।

शुक्रबार दिउँसो गोडैता र मलंगवाबाट १२ लाख ४५ हजार नेपाली रुपैयाँसहित कार चालक र साइकल चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

शुक्रबार दिउँसो बरहथवाबाट भारततर्फ जाँदै गरेको अवस्थामा गोडैता नगरपालिका १२ स्थित लक्ष्मी चोकमा जाँच गर्दा प्रदेश ०१ ०२५ च १७९४ नम्बरको कारबाट १० लाख ४५ हजार बरामद भएको प्रहरीले जनायो । पक्राउ पर्नेमा कार चालक काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ८ का ३२ वर्षीय प्रल्हाद चापागाईं, सोही ठाउँका २७ वर्षीय सनम बस्नेत, ३६ वर्षीय शिव चापागाईं र ४८ वर्षीय कृष्ण दाहाल छन्।

त्यसैगरी शुक्रबारै प्रहरीले मलंगवा नगरपालिका २ बाट एक भारतीयलाई २ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको छ। साइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा भारत सीतामढी घर भएका १९ वर्षीय राहुल महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सुराकीको आधारमा उनको शरीर खानतलासी गर्दा दुई लाख रुपैयाँ फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुवै घटनामा थप अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताएका छन् ।