logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

बागमती नगरपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता बाँड्ने


  • उज्यालो अभियान

बागमती – सर्लाहीको बागमती नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ ।

एनआईसी एशिया बैङ्कको कर्मैया शाखासँग समन्वय गरी नगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलगायतलाई वडाबाटै भत्ता लिन सक्ने व्यवस्था मिलाएको हो । नगरपालिकाले चालू आर्थिक वर्ष २०७९÷०८० को दोस्रो त्रैमासिक (कात्तिकदेखि पुससम्म) को सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाट वितरण गर्न सुरु गरिएको जनाएको छ ।

वडा नं. ४, ११ र १२ का वासिन्दालाई भने पूर्व–पश्चिम राजमार्गस्थित बैङ्कको कर्मैया शाखाबाट सामाजिक सुरक्षा भत्ता वितरण हुने छ । त्यसबाहेक वडा नं. १, २ र ३ का वासिन्दालाई संयुक्त वडा कार्यालय ढुङ्ग्रेखोला, वडा नं. ५, ६ र ७ का वासिन्दालाई संयुक्त वडा कार्यालय राजघाट र वडा नं. ८, ९ र १० का वासिन्दालाई संयुक्त वडा कार्यालय शङ्करपुरबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिने बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलले बताए ।

कर्मैयामा रहेको बैङ्कमा भत्ता बुझ्नका लागि सेवाग्राहीको अत्यधिक भीड लाग्ने गरेको र टाढाका वासिन्दालाई त्यहाँ आएर घण्टौँ लाइनमा बस्नु परेको गुनासोलाई मध्यनजर गरी सम्वन्धित वडा कार्यालयमै वडा र बैङ्कका कर्मचारी राखेर भत्ता वितरणको व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत पोखरेलले जनाए । नगरपालिकाले बिहीबारदेखि आगामी माघ २९ गतेसम्म १२ वटै वडामा भत्ता वितरण गरिसक्ने गरी तालिका सार्वजनिक गरिएको र आफ्नो वडामा कुन दिन भत्ता वितरण हुन्छ ? सो बारे जनप्रतिनिधि वा कर्मचारीसँग बुझ्न नगरपालिकाले आग्रह गरेको छ ।

एनआईसी एशिया बैङ्क कर्मैयाका शाखा प्रवन्धक बालक घिमिरेले नगरपालिकाबाट सुरक्षा व्यवस्था, यातायातको प्रवन्ध र इन्टरनेटको व्यवस्था गर्ने सहमतिमा वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न लागिएको बताए ।