हरिवन – सर्लाहीको हरिवनले नगरपालिकाले बुधबार मानव सेवाश्रमलाई चिसोमा लगाउने न्यानो कपडा प्रदान गरेको छ ।
हरिवन नगरपालिकाकै वडा नं. १ कैलाशपुरीमा संचालित आश्रममा बसोवास गर्ने ५० जना वृद्धवृद्धाका लागि नगरले ताता कपडा प्रदान गरेको हो । हरिवनका मेयर रमेश बुढाथोकी (कमल), उपमेयर हरिमाया घलान, वडा नं. १ का वडाध्यक्ष टमबहादुर घिसिङ, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, हरिवन ९ का पूर्व वडाध्यक्ष सीताराम पोखरेलगायत भएर आश्रममै पुगी आश्रमकी संयोजक सम्झना अधिकारीलाई न्यानो कपडा हस्तान्तरण गरेका हुन् ।
हरिवन नगरपालिकाले नै कैलाशपुरीमा भवन उपलब्ध गराएपछि नयाँरोडमा भाडाको घरबाट संचालित मानव सेवा आश्रमलाई केही महिनाअघि त्यहाँ सारिएको थियो । आश्रममा नगरपालिकासँगै बुधबार नै हरिवन बजारमा फेन्सी पसल संचालन गर्ने रामकृष्ण बैठाले ३०÷३५ थान हाइनेक, ट्राउजर प्रदान गरेका आश्रमकी संयोजक अधिकारीले जानकारी दिए ।