logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

नवलपुर घटना : भारतीय सुरक्षाकर्मीमाथि अभद्र व्यवहारमा मुद्दा दर्ता


  • उज्यालो अभियान

नवलपुर – सर्लाहीको नवलपुरमा गएको आइतबार साँझ सुनचाँदी व्यवसायीलाई अपहरण शैलीमा नियन्त्रणमा लिन आउँदा पक्राउ परेका भारतीय प्रहरीविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता गरिएको छ ।

उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय मलंगवामा अभद्र व्यवहारमा मुद्दा दर्ता गरिएको हो । सुरक्षा स्रोतका अनुसार ती भारतीय प्रहरीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखिएको छ ।

आइतबार साँझ नवलपुरस्थित पूर्व बसपार्कदेखि दक्षिणतर्फ मनकामना सुनचाँदी पसल संचालन गर्ने लालबन्दी नगरपालिका–१, स्थित नवलपुर नै घर भएका गुड्डु साहलाई अपरिचित समूहले अपहरण शैलीमा नियन्त्रणमा लिने प्रयास भएको थियो । त्यस दिन साँझ ६ बजेतिर नेपाली नम्बर प्लेटको स्कर्पियो चढेर आएका ४ जनाले साहलाई गाडीमा राखेर लैजाने प्रयास गरेका थिए । तर, तत्कालै प्रतिकार गरेर स्थानीयले अपरहरण शैलीमा साहलाई लिन आएको टोली मध्ये एक जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिन सफल भएका थिए ।

सो घटनाको विरोधमा सोमबार बिहान यहाँका व्यापारीहरुले शान्ति सुरक्षाको माग र पक्राउ परेका व्यक्तिमाथि कारवाहीको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुर चोकमा केहीबेर चक्काजाम गरेका थिए ।

भारतको पटना स्थित एसएस ज्वेलर्समा २०७८ माघ ७ गते ३५ किलो सुन र १२ लाख भारतीय रुपैया लुटपाट भएको घटनाको अनुसन्धानका क्रममा भारतीय सुरक्षा निकायले पटक–पटक सर्लाहीका विभिन्न व्यक्तिहरु उपर नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

यसअघि वैशाखमा लालबन्दी–२ पुनर्वास निवासी सुन्दर पासवानलाई तथा साताअघि जंगली पासवानलाई पनि भारतीय प्रहरीले गाउँबाटै नियन्त्रणमा लिएर गएर मुद्दा चलाईसकेको छ । साहलाई भने के विषयमा भारतीय प्रहरीले नियन्त्रणमा लिन खोजेको हो, त्यो भने खुल्न सकेको छैन ।