परवानिपुर – सर्लाहीको उत्तरी चुरेभेगस्थित विकट बस्ती शिरकालिन्जोरमा बिजुली बत्ती पुगेको छ ।
लालबन्दी नगरपालिका–१५, शिरकालिन्जोर (साविक परवानीपुर गाविस वडा नं. २ को माथिल्लो भेग) मा बिजुली बत्ती पुगेपछि बर्षौदेखि टुकी बत्तीको साहारामा रात काट्दै आएका स्थानीय खुसी भएका छन् । बिजुली बत्ती नहुँदा स्थानीयलाई मोवाईल चार्ज गर्नदेखि विजुलीबाट हुने अन्य काम गर्न समस्या रहेको थियो ।
चुरे क्षेत्रमा वसोवास गर्ने स्थानीयमा अन्नबाली लगाउन आकाशे वर्षा पर्खिनुको बिकल्प थिएन । बस्तीको तल्लो भाग भएर कालिन्जोर खोला बग्ने भए पनि उनीहरुले बिजुली बत्ती नभएकै कारण त्यहाँको पानीको लाभ लिन सकेका थिएनन् ।
अब भने बिजुली पुगेसँगै खोलाको पानी पम्पिङ गरेर खेती गर्ने स्थानीयको योजना छ । बुधबार दिउँसो लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, लालबन्दी १५ का वडाध्यक्ष गोरखबहादुर बल र नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख संजिव कुमार साहले नयाँ जडान गरिएको ट्रान्सफर्मरमा बत्ती बालेर त्यहाँ विद्युत् सेवाको शुभारम्भ गरेका हुन् ।
गाउँमा बिजुली आएपछि हर्षित भएका स्थानीयले नगरप्रमुख अधिकारी, वडाध्यक्ष बल र वितरण केन्द्र प्रमुख साह लगायतलाई खादा, अविर र माला लगाएर स्वागत गरेका छन् । विद्युत् विस्तारपछि झण्डै ३ सय ५० घर परिवार लाभान्वित भएको वडाध्यक्ष बलले बताए ।
गत आर्थिक वर्षको प्रारम्भ देखिनै विद्युत् विस्तार थालिएको वडाध्यक्ष बलले बताए । उनले भौगोलिक विकटताको कारण वडाका सवै क्षेत्रमा अझै पनि विद्युत् विस्तार हुन नसकेको जानकारी दिए ।
बाहुनी डाँडा, फलाके, धापखर्क, माझखोला क्षेत्रमा विद्युत् विस्तार आवश्यक रहेको वडाध्यक्ष बलले बताए । लालबन्दी वितरण केन्द्रका प्रमुख साहले बिकट क्षेत्र भएकाले प्राधिकरणका कर्मचारीलाई त्यहाँ पुग्नै झण्डै दुई घण्टा लाग्ने भएकाले कसरी सेवालाई निरन्तरता दिन सकिन्छ भन्ने चिन्ता लाग्ने गरेको बताए ।
उहाँले माग अनुसार क्षमता अभिवृद्धि गर्न प्राधिकरण तयार रहेको बताए । केही दिनअघि लालबन्दी नगरपालिका १४ नारायण खोलास्थित डाइनी खोलामा पनि पहिलो पटक बिजुली बत्ती पु¥याइएको थियो ।