मलंगवा – सर्लाहीमा चिसो प्रभावित व्यक्ति तथा परिवारलाई न्यानो कपडा, कम्बल आदि के कति राहत उपलब्ध गराउन सकिन्छ भनी विवरण लिइने भएको छ ।
आज (मंगलबार) जिल्ला प्रशासन कार्यालय मलंगवामा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा बसेको विपद्को क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिसहितको बैठकले भोली (बुधबार) नै सबै संघसंस्थाहरुले जिल्ला प्रशासन कार्यालयमा विवरण उपलब्ध गराउने र स्थानीय तहसँग समन्वय गरी वितरण गर्ने निर्णय गरेको हो । यस्तै, शितलहरबाट प्रभावित हुन सक्ने क्षेत्र, गाउँ, टोल, परिवारहरुको पहिचान गरी राहत तथा उद्धारको प्रवन्धसहित दाउरा, न्यानो कपडा, कम्बलको व्यवस्थापनमा लाग्ने, चिसोबाट जोगिने उपायबारे सचेतनामूलक कार्यक्रम संचालन गर्ने निर्णय पनि भएको छ ।
त्यसैगरी, छिमेकी राष्ट्रहरुमा कोरोनाको संक्रमण बढ्दै गएकाले सोको जोखिम र असरका सम्वन्धमा सचेतनामूलक कार्यक्रम संचालन गर्ने बैठकले निर्णय गरेको छ । केही दिनदेखि सर्लाहीमा चिसो अत्यधिक बढ्न थालेपछि आज विपद्को क्षेत्रमा काम गर्ने सरकारी तथा गैर–सरकारी संघसंस्थाबीच समन्वयात्मक छलफल गरिएको हो ।