logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

नारायण खोलामा आज दोस्रो दिन ९ बिघाको गाँजा खेती नष्ट गरेको प्रहरीको दावी


  • उज्यालो अभियान

नारायण खोला – सर्लाही प्रहरीले सोमबार पनि जिल्लाको दुर्गम भेगस्थित नारायण खोला पुगेर अवैध गाँजा खेती नष्ट गरेको छ ।

लालबन्दी नगरपालिका १४ नारायण खोलाको पाखोभित्ताका बारीमा लगाइएको गाँजा जिल्ला प्रहरी कार्यालय मलंगवा, इलाका प्रहरी कार्यालय लालबन्दी र अन्य प्रहरी युनिटहरुबाट थप मद्धतमा पुगेका प्रहरीले नष्ट गरेका हुन् । सोमबार ९ बिघाको गाँजा खेती फाँडेर आगो लगाई जलाउने काम भएको सर्लाही प्रहरीले जनाएको छ ।

यसअघि आइतबार ८ बिघाको गाँजा नष्ट गरिएको प्रहरीले दावी गरेको छ । जिल्ला प्रहरी कार्यालय मलंगवामा नयाँ एसपी नरेशराज सुवेदी हाजिर भएपछि सुरुमै नारायण खोलाका स्थानीयले लगाएको गाँजा खेती नष्ट गर्न प्रहरी खटाएका छन् ।

नारायण खोलाको बारीका फाँटमा अहिले बेच्ने बेला भएको गाँजा खेती छ । स्थानीय गाँजा बेचेर मनग्य आम्दानी गर्ने तयारीमा थिए । तर, प्रहरी पुगेर भकाभक गाँजा नष्ट गर्न थालेको हो ।

लागूऔषध गाँजाको खेती तथा ओसारपसार गर्न कानूनले निषेध गरेको छ । राम्रो पैँसा आउने भएकाले नारायण खोलाका स्थानीयले केही वर्ष अगाडिदेखि नै गाँजा खेती गर्दै आइरहेका छन् ।
प्रहरीले बर्सेनि यही समयमा गएर त्यहाँका स्थानीयले लगाएको गाँजा फाड्छ । तर, पनि स्थानीयले गाँजाको खेती गर्न भने छाडेका छैनन् ।

प्रहरी आएर बारीभरी लगाएको गाँजा नष्ट गरिरहँदा स्थानीयवासी निराश बनेका छन् । लालबन्दीबाट उत्तर पत्थरकोटहुँदै खोलाको बगरै–बगर भएर जानुपर्ने साबिक नारायण खोला गाविस चुरेको विकट गाउँ हो, यो ठाउँलाई सर्लाहीको कर्णाली भनि चिनिन्छ ।

त्यहाँ अहिले खोलै–खोला गाडी चल्छन् । बर्खा लागेर खोलामा बाढी आउन थालेपछि आवतजावत नै बन्द हुन्छ । अरुबेला प्रहरी हम्मेसा नपुग्ने भएकाले स्थानीयले ढुक्कसँग गाँजा खेती गर्ने गरेका छन् ।