logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

जनज्योति क्याम्पसको अध्यक्षमा दीपक अधिकारी निर्विरोध चयन


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसको अध्यक्षमा दीपक अधिकारी चयन भएका छन् ।

शनिबार सम्पन्न २२ औँ क्याम्पस सभाले लालबन्दी ७ निवासी कांग्रेस नेता अधिकारीको नेतृत्वमा सर्वसम्मत रुपमा ११ सदस्यीय नयाँ क्याम्पस व्यवस्थापन समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा लालबन्दी ७ नै निवासी नेकपा एमालेका नेता कमलप्रसाद पौडेल चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा सरोजबाबु न्यौपाने, पवित्रा घिमिरे, युवराज देवकोटा, रामनारायण चौधरी, केशवप्रसाद ढुंगाना, कृष्ण गौतम, पन्चलाल स्याङ्बो, रामाशंकर पासवान र गंगाप्रसाद चौलागाई रहेका छन् । क्याम्पसको व्यवस्थापन समिति क्याम्पस प्रमुख सदस्य सचिवसहित क्याम्पस रहेको वडाका वडाध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्ष, त्रिविका प्रतिनिधि, स्ववियू सभापतिसहित अन्य ८ जना पदेन सदस्य समेत गरी १९ सदस्यीय हुन्छ ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद न्यौपानेको अध्यक्षता तथा सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा आयोजित क्याम्पस सभामा प्रदेश सभा सदस्य बेची लुंगेली, पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठ, लालबन्दीका मेयर बासुदेव अधिकारी, उपमेयर कल्पनामाया पाख्रिन, दलका प्रतिनिधिलगायतको आतिथ्यता रहेको थियो ।

सभामा विद्यान संशोधनको निर्णय अनुमोदनसहित जनज्योति दर्पण र जनज्योति जर्नल नामक दुई पुस्तकको लोकार्पण गरिएको क्याम्पस प्रमुख उमेश तिमल्सिनाले जानकारी दिए ।