बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलवासमा रहेको नारायण जनता माध्यमिक विद्यालय केशरगन्जमा छैठौँ पटकको अभिभावक भेलाबाट मंगलबार बल्ल व्यवस्थापन समिति गठन गरिएको छ ।
यसअघि ५ पटक भएको भेलामा सहमती जुट्न नसक्दा समिति गठन हुन सकेको थिएन् । मंगलबार छैठौँ पटकमा विद्यालय प्राङ्गणमा सम्पन्न अभिभावक भेलाबाट पहिलो चरणमा ४ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको हो ।
समितिमा साबिर मिकरानी, मायाबती चौधरी, बबिता कुमारी सिंह र हृदयनारायण महतो रहेका छन् । उनीहरु ४ जनाले अब २ जना सदस्य मनोनित गरेपछि ६ जना मध्येबाट एक जना अध्यक्ष चुनिने छन् ।
व्यवस्थापन समितिमा सो वडाका वडाध्यक्ष पदेन सदस्य, विद्यालयका प्रधानाध्यापक सदस्य सचिव र एक जना शिक्षक प्रतिनिधि पनि सदस्य रहने व्यवस्था छ । अभिभावक भेलामा ईश्वरपुर ६ का वडाध्यक्ष रहमान अन्सारी, ५ का वडाध्यक्ष पन्ची महतो, ७ का वडाध्यक्ष नाथुराम चौधरी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीराकाजी श्रेष्ठ, शिक्षा शाखाका प्रमुख हरिप्रसाद दाहाल, योजना प्रमुख पुष्करमणि घिमिरे, प्रधानाध्यापक फडिराज बराल, इलाका प्रहरी कार्यालय केशरगन्जका प्रमुख रोशन थापालगायतको उपस्थिति रहेको थियो ।
कोरोना संक्रमण आउनुअघि देखि यो विद्यालय व्यवस्थापन समिति विहीन बनेको थियो । कोरोना संक्रमणका कारण बीचमा भेला हुन सकेन भने संक्रमण सामान्य भएपछि ५ पटक बोलाइएको अभिभावक भेलामा राजनीतिक सहमती जुट्न नसक्दा समितिका सदस्यहरु चयन हुन सकेनन् ।
पछिल्लो समय प्रत्येक स्थानमा क्याम्पस तथा विद्यालयमा व्यवस्थापन समिति गठन गर्दा प्रत्यक्ष राजनीतिक हस्तक्षेप हुने गर्छ ।