हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–२, सानो जगतपुरमा मानसिक सन्तुलन ठीक नभएका एक युवकले आफ्नै घरमा आगो लगाएका छन् ।
आगलागीबाट घर पूर्णरुपमा जलेको छ । सोमबार राति सानो जगतपुर बस्ने कुम्भमाया बराल न्यौपानेका छोरा दीपक न्यौपानेले आफ्नै घरमा आगो लगाउँदा इँटा र काठले बनेको दुई तले घर पूर्णरुपमा जलेर नष्ट भएको हो ।
आगलागीबाट घरसहित घरभित्र रहेको अन्न, कपडा, भाँडा र नगदसहित सम्पूर्ण सरसामग्री जलेर नष्ट हुँदा १२ लाख ४७ हजार रुपियाँ बराबरको क्षति भएको पीडितले बताएका छन् । आगोमा परेर एउटा बाख्रा जलेर मरेको छ ।
सोमबार राति पौने १० बजेतिर सुरु भएको आगलागी स्थानीय, प्रहरी र हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगमा करिव दुई घण्टापछि नियन्त्रणमा आएको थियो ।