सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल । (तस्बीर : उज्यालो अभियान)
मलंगवा – सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा प्रसूति गराउन आउने गर्भवतीको संख्यामा उल्लेख्य वृद्धि हुन थालेको छ ।
अस्पतालले शल्यक्र्रियासहितको प्रसूति सेवा नियमित गरेसँगै जिल्लाकै सबैभन्दा ठूलो सरकारी अस्पताल प्रादेशिक अस्पताल मलंगवामा प्रसूतितर्फ चाप बढ्न थालेको हो । अस्पतालमा यो आर्थिक वर्षमा मात्रै एक हजार २९१ गर्भवतीले प्रसूति सेवा लिइसकेका छन् ।
एक हजार १७३ गर्भवतीले सामान्य र ११८ गर्भवतीले शल्यक्र्रियासहितको प्रसूति सेवा लिएको अस्पतालकी स्टाप नर्स सङ्गिता श्रेष्ठले जानकारी दिईन् । श्रेष्ठका अनुसार साउन महिनामा २२० गर्भवतीले सामान्य र १९ गर्भवतीले शल्यक्र्रिया, भदौ महिनामा २७६ गर्भवतीले सामान्य र ३७ गर्भवतीले शल्यक्र्रियासहितको प्रसूति सेवा लिएका छन् ।
त्यस्तै, असोज महिनामा २५० गर्भवतीलाई सामान्य र १९ गर्भवतीलाई शल्यक्र्रिया, कात्तिक महिनामा २१२ गर्भवतीलाई सामान्य र २१ गर्भवतीलाई शल्यक्र्रियामार्फत प्रसूति गराइएको छ । मङ्सिर महिनामा हालसम्म २१५ गर्भवतीलाई सामान्य र २३ गर्भवतीलाई शल्यक्र्रियामार्फत प्रसूति गराइएको अस्पतालले जनाएको छ ।
यसअघि जिल्ला अस्पतालको रुपमा रहेको यस अस्पतालमा आर्थिक वर्ष २०७७÷०७८ मा एक हजार ३४० गर्भवतीले सामान्य र ६२ गर्भवतीले शल्यक्र्रिया तथा आर्थिक वर्ष २०७८÷०७९ मा एक हजार ९७३ गर्भवतीले सामान्य र १५३ गर्भवतीले शल्यक्र्रियासहितको प्रसूति सेवा लिएका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवलकिशोर झाले प्रसुतिमा चाप बढ्दै गए पनि अस्पतालमा आवश्यक संरचना र जनशक्तिको अभावमा प्रसूति सेवामा चूनौति थपिएको बताए । “चेतनास्तरमा भएको वृद्धि र शल्यक्र्रियासहितको प्रसुति सेवा नियमित भएपछि अस्पतालमा आएर प्रसुति गराउने गर्भवती बढ्नु भएको छ,” डाक्टर झाले भने, “प्रसुतिका लागि हामीसँग संरचना र जनशक्ति भने अभाव छ ।”
डाक्टर झाले पटक–पटक सूचना निकालेर प्रसुतिको विशेषज्ञ चिकित्सक माग गरिए पनि गाइनोलोजिष्ट डाक्टरबाट आवेदन नै परेको छैन् । अस्पतालमा १० जना मात्रै स्टाप नर्सको दरबन्दी भए पनि अस्पतालले आफ्नै स्रोतबाट समेत गरी १७ जना स्टाप नर्सको व्यवस्था गरेको छ ।
अस्पतालमा प्रसूतिका लागि ३६ वटा शैया छुट्याइएको छ । स्थानीय पालिकाहरुले सहयोग गरे प्रसूति सेवालाई अझ व्यवस्थित बनाउन सकिने मेडिकल सुपरिटेन्डेन्ट डाक्टर झाले बताए ।
“यहाँ प्रसूति गराउन आउने छेउछाउकै पालिकाका गर्भवतीहरु हो, त्यसैले पालिकाहरुले पनि प्रसुतिमा सहयोग गरे अझ प्रभावकारी सेवा प्रवाह गर्न सक्छौँ,” डाक्टर झाले भने ।