logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

चुनावमा अन्तर्घात गरेको भन्दै माओवादीका पोलिटब्युरो सदस्य काफ्ले र यादवलाई कारवाहीको सिफारिस


  • उज्यालो अभियान

हरिवन नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्यद्वय अच्युतम काफ्ले र रामेश्वर राय यादवलाई कारबाहीका लागि माओवादी केन्द्रका हरिवन, बागमती र बहरथवा नगर कमिटीले पार्टीको मधेश प्रदेश समिति र पार्टी केन्द्रलाई छुट्टाछुट्टै सिफारिस पठाएका छन् ।

काफ्ले र रायले अन्तर्घात गर्दा मंसिर ४ को निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह कलबार पराजित भएको निष्कर्ष पार्टीका स्थानीय कमिटीले निकालेका छन् । काफ्ले र रायले एमाले उम्मेदवारसँग मिलेमतो गरेर पार्टीका उम्मेदवार साहलाई हराउन भूमिका खेलेको भन्दै उनीहरुलाई कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको माओवादी केन्द्र हरिवन नगर कमिटिका एक पदाधिकारीले बताए ।

निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार साह एमालेका नेता हरि उप्रेतीसँग पराजित भएका थिए । उप्रेतीले ३२ हजार ९३८ मत प्राप्त गर्दा कलवारले ३२ हजार १६८ मत ल्याएका थिए ।

पोलिटब्युरो सदस्य काफ्ले माओवादी केन्द्रका सर्लाही जिल्ला इन्चार्जसमेत हुन् । पार्टीको अर्का पोलिटब्युरो सदस्य राय पूर्वमन्त्री र सर्लाही ३ बाट निर्वाचित निवर्तमान संघीय सांसद हुन् ।