मुसैलीमा स्थानीयले गरेको चक्काजाम । (तस्बीर सौजन्य : निरज यादव)
मलंगवा – सर्लाहीको मलंगवा नगरपालिका–६, मुसैलीका स्थानीयले हुलाकी सडक निर्माणको माग गर्दै आज (बुधबार) बिहानैदेखि चक्काजाम गरिरहेका छन् ।
अलपत्र अवस्थामा छाडिएको हुलाकी सडकको धुलोले हैरान भएको भन्दै स्थानीयले सडकमा टायर बालेर चक्काजाम गरिरहेका हुन् । स्थानीयले पटक–पटक आवश्वास पाउँदा पनि हुलाकी सडक कालोपत्रे नभएकाले बाध्य भएर चक्काजाममा उत्रनुपरेको बताएका छन् ।
बिहान १० बजेपछिबाट हुलाकी सडकमा सार्वजनिक सवारी चल्न सकेका छैनन् । आन्दोलित स्थानीयले ठेकेदार र उसको प्रतिनिधि आएपछि मात्रै चक्काजाम खुल्न दिने अडान लिइरहेका छन् । केही दिनअघि कौडेना बजारका स्थानीयले पनि चक्काजाम गरेका थिए ।
स्थानीयको प्रदर्शनपछि त्यहाँ सडक कालोपत्रेको थोरै काम भएको छ । वर्षौदेखि जरजर अवस्थामा रहेको हुलाकी सडकमा अहिले कुहिरीमण्डल भएर धूलो उड्दा स्थानीय प्रभावित भइरहेका छन् ।