लालबन्दी – मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराई सर्लाहीको लालबन्दी नगरपालिका १३, पत्थरकोटस्थित एक रिसोर्टमा मृत फेला परेका छन् ।
नेपाल पत्रकार महासंघ सर्लाहीको ११ औँ वार्षिक साधारण सभामा सहभागी हुन आएका भट्टराई शुक्रबार राति बास बसेको रिसोर्टमा मृत फेला परेका हुन् । ६७ वर्षीय भट्टराईको घर सप्तरी सदरमुकाम राजविराज हो ।
कार्यक्रममा सहभागी हुन भट्टराई शुक्रबार साँझ नै जनकपुरबाट पत्थरकोट आइपुगेका थिए । बेलुका खाना खाएर एउटा मात्रै कोठा भएको कटेजमा सुत्न गएका भट्टराई शनिबार बिहान नउठेपछि बोलाउन जाँदा मृत भेटिए ।
भट्टराईको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल पुर्याइएको छ । भट्टराईको निधनपछि साधारण सभा स्थगित गरिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाले जनाएको छ ।
भट्टराई झण्डै ४ दशकदेखि पत्रकारिता पेशामा आवद्ध थिए । उनी उच्च रक्तचाप र मधुमेहको बिरामी थिए ।