कालिन्जोर – सर्लाहीको उत्तरी भेगस्थित ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर घारिबथानमा सोमबार निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ ।
घारिबथानस्थित वडा कार्यालयको परिसरमा नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पतालको आयोजनामा भएको शिविरमा सबै उमेर समूहका गरी १३० जनाको औषधि उपचार गरिएको कालिन्जोर स्वास्थ्य चौकीका इन्चार्ज डा. दिनेशकुमार सिंहले जानकारी दिए । आँखा परीक्षण गरिएकामध्ये ११ जनामा मोतिया विन्दुको समस्या देखिएको छ ।
उनीहरुलाई मंसिर १३, १४ र १५ गते बयलवासस्थित नगर अस्पतालमा हुने अप्रेसन क्याम्पमा निःशुल्क अप्रेसनको व्यवस्था मिलाइएको हेल्थपोष्टका प्रमुख डा. सिंहले बताए । उनले शिविरमा घारिबथानको माथिल्लो चुरेपाखाका वृद्धवृद्धाहरु पनि आएर सेवा लिएका बताए ।
घारिबथानका वडाध्यक्ष देविबहादुर खत्रीले शिविरबाट आर्थिक रुपमा कमजोर रहेका स्थानीय आँखाका बिरामीले आँखाका विशेषज्ञ डाक्टरबाट लाभ लिएका बताए ।
नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पतालले यस्तै प्रकारको आँखा शिविर गौरीशंकर, बेला, भक्तिपुर, हरिपूर्वालगायतको स्थानमा पनि गरेको छ । सबै ठाउँका मोतिया विन्दुका बिरामीलाई भोलीदेखि ३ दिनसम्म अप्रेसन क्याम्प राखेर अप्रेसनको व्यवस्था मिलाइएको छ ।