logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीबाट प्रदेश र प्रतिनिधि सभामा ६ जना पुरानै अनुहार दोहोरिए


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीमा छ जना पुरानै अनुहार प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा विजयी भएका छन् ।

प्रतिनिधि सभामा दुई जना र प्रदेश सभामा चार जना पुराना अनुहार पुनः निर्वाचित भएका हुन् । यहाँ चार प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये माओवादी केन्द्रले दुई, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एक र स्वतन्त्र उम्मेदवारले एक स्थानमा बिजयी प्राप्त गरेका छन् ।

त्यस्तै, प्रदेश सभातर्फ आठ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले तीन, नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्र, लोसपा, जसपा र स्वतन्त्र उम्मेदवारले एक÷एक स्थानमा जित निकालेका छन् । क्षेत्र नम्वर १ मा प्रतिनिधि सभा सदस्यमा नयाँ अनुहार निर्वाचित भएका छन् ।

प्रतिनिधि सभा सदस्यमा निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका रामप्रकाश चौधरीले २४ हजार ८३८ मत प्राप्त गर्दा दोस्रो भएका स्वतन्त्र उम्मेदवार मानबहादुर खड्काले १८ हजार ४०४ र तेस्रो भएका निवर्तमान सांसद प्रमोद साहले १४ हजार २५५ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्वर १ को (क) र (ख) दुवै प्रदेश निर्वाचन क्षेत्रमा यसअघिकै प्रदेश सभा सदस्य दोहोरिएका छन् । १ (क) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उपेन्द्र महतो १२ हजार २६५ मतसहित दोस्रो पटक निर्वाचित भए ।

महतोले माओवादी केन्द्रका रामचन्द्र सिंह कुशवाहालाई दुई हजार १२८ मतले पराजित गरे । १ (ख) मा जिल्लाभरमै सबैभन्दा धेरै छ हजार ३८८ मतान्तरले नेकपा (एकीकृत समाजवादी) पार्टीकी बेची लुङ्गेली निर्वाचित भईन् ।

लुङ्गेलीले १३ हजार ३०१ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी शान्तिकुमारी लामाले छ हजार ९१३ मतमै रोकिईन् । क्षेत्र नम्वर २ मा प्रतिनिधि सभा सदस्यतर्फ पुरानै अनुहारका रुपमा नेकपा माओवादी केन्द्रका महिन्द्र राय यादव निर्वाचित भए ।

यादव २३ हजार ५२९ मत ल्याइ विजयी हुँदा उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राजेन्द्र महतो २१ हजार ५१८ मतमा रोकिए । क्षेत्र नम्वर २ को प्रदेश सभा सदस्यतर्फ भने दुवै जना नयाँ अनुहार निर्वाचित भएका छन् ।

२ (क) मा नेपाली कांग्रेसका जङ्गिलाल राय आठ हजार २९० मतसहित निर्वाचित हुँदा माओवादी केन्द्रका सुनिल कुमार साह सात हजार २१४ मतमा रोकिए । यहाँ निवर्तमान प्रदेश सभा सदस्य गौरीनारायण साह यो पटक उम्मेदवार थिएनन् ।

२ को (ख) मा पनि नयाँ अनुहार निर्वाचित भएका छन् । यहाँ नेपाली कांग्रेसका कौशलकिशोर राय जिल्लामै सबैभन्दा कम १७९ मतको अन्तरले विजयी भए ।

रायले नौ हजार ६२६ मत प्राप्त गरी विजयी हुँदा लोसपाका मेथुर चौधरी नौ हजार ४४७ मतसहित दोस्रो र निवर्तमान प्रदेश सभा सदस्य अशोक यादव आठ हजार ९४० मतसहित तेस्रो भए । त्यस्तै, क्षेत्र नम्वर ३ को प्रतिनिधि सभा सदस्यमा नयाँ अनुहार आएका छन् ।

यहाँ संविधान सभाका सदस्य समेत रहेका नेकपा एमालेका हरि उप्रेती ३२ हजार ९३८ मतसहित विजयी हुँदा माओवादी केन्द्रका नरेन्द्र साह कलवार ३२ हजार १६८ मतमै रोकिए ।

यहाँका निवर्तमान सांसद रामेश्वर राय यादव प्रतिस्पर्धामा थिएनन् । क्षेत्र नम्वर ३ को दुवै प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रमा नयाँ अनुहार निर्वाचित भएर आएका छन् ।

३ (क) मा स्वतन्त्र उम्मेदवार जवाहारलाल कुशवाहा १६ हजार ५९१ मतसहित निर्वाचित हुँदा एमालेका गणेश प्रसाद प्रसाई १५ हजार १६६ मतसहित दोस्रो र निवर्तमान प्रदेश सभा सदस्य नेकपा (एकीकृत समाजवादी) पार्टीका डिल्ली प्रसाद उप्रेती पाँच हजार ३७२ मतसहित तेस्रो भए । ३ (ख) मा भने पुरानै अनुहारका रुपमा जनता समाजवादी पार्टीका सञ्जय कुमार यादव १३ हजार १९० मतसहित पुनः निर्वाचित भए ।

यहाँ स्वतन्त्र उम्मेदवार सरोजकुमार राय आठ हजार ३४८ मतसहित दोस्रो भए । क्षेत्र नं. ४ को प्रतिनिधि सभा सदस्यमा पुरानै अनुहारका रुपमा स्वतन्त्र उम्मेदवार डा. अमरेशकुमार सिंह निर्वाचित भए ।
२०७० र २०७४ मा नेपाली कांग्रेसबाट निर्वाचित सिंह यो पटक पार्टीबाट टिकट नपाएपछि स्वतन्त्रबाटै प्रतिस्पर्धामा उत्रिएर पार्टीकै उम्मेदवारलाई पराजित गर्दै पुनः सांसदमा दोहोरिएका हुन् । सिंह २० हजार १७ मतसहित विजय हुँदा कांग्रेसका नागेन्द्रकुमार राय १८ हजार २५३ मतसहित दोस्रो भए ।

प्रदेशतर्फ ४ (क) मा पुरानै अनुहारका रुपमा नेपाली कांग्रेसका वीरेन्द्र प्रसाद सिंह विजयी भए । सिंहले १५ हजार ६९३ मत प्राप्त गर्दा नेकपा एमालेका रामबाबु रायले १४ हजार ६१६ मतमा रोकिए ।
४ (ख) मा नयाँ अनुहारका रुपमा नेकपा माओवादी केन्द्रका फकिरा महतो निर्वाचित भए । महतोले आठ हजार ३३ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार अनिता देवीले सात हजार ६७६ मत ल्याईन् ।
निवर्तमान प्रदेश सभा सदस्य उपेन्द्र कुशवाहा यो पटक उम्मेदवार नै थिएनन् ।