logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

क्षेत्र नं. ४ का मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण प्रदान


  • उज्यालो अभियान

मतदान अधिकृत र सहायक मतदान अधिकृतको प्रशिक्षण ।

गोडैता – सर्लाहीको क्षेत्र नं. ४ का मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई बुधबार प्रशिक्षण प्रदान गरिएको छ ।

मंसिर ४ को निर्वाचनमा क्षेत्र नं. ४ को ८१ मतदानस्थल अन्तर्गत १४६ वटा मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई क्षेत्र नं. ४ को मतदान अधिकृतको कार्यालय रहेको गोडैतास्थित वेणी भोला नमूना माध्यमिक विद्यालयमा प्रशिक्षण प्रदान गरिएको हो । एउटा मतदान केन्द्रमा एक जना मतदान अधिकृत र एक जना सहायक मतदान अधिकृत खटिने छन् ।

१४६ वटा मतदान केन्द्रमा खटिने एक÷एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित २९२ जना र तीन जना जगेडा मतदान अधिकृत गरी २९५ जनालाई प्रशिक्षण प्रदान गरिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख निर्मल पोख्रेलले उज्यालो अभियानसँग बताए । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई सर्लाहीका मुख्य निर्वाचन अधिकृत कवीप्रसाद न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, क्षेत्र नं. ४ का निर्वाचन अधिकृत शम्भुप्रसाद बराल, क्षेत्र नं. १ का निर्वाचन अधिकृत प्रदीपकुमार उपाध्याय, क्षेत्र नं. ३ का निर्वाचन अधिकृत वशिष्ठकुमार घिमिरे, जिल्ला निर्वाचन कार्यालयका प्रमुख पोख्रेल, पूर्व कार्यालय प्रमुख दिवाकर भुजेललगायतले प्रशिक्षण प्रदान गरेका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।

यस्तै, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमसहित अन्य सुरक्षा अधिकारीले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई सुरक्षाका सम्वन्धमा निर्देशन समेत दिएका छन् । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन कसरी स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने ? भनी प्रशिक्षण प्रदान गरिएको हो ।

प्रशिक्षणमा सहभागी मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई नमूना मतदानमा पनि सहभागी गराइएको छ ।

यस्तै किसिमको प्रशिक्षण बिहीबार क्षेत्र नं. २ को मलंगवा, शुक्रबार क्षेत्र नं. ३ को हरिवन र शनिबार क्षेत्र नं. १ को लालबन्दीमा आयोजना गरिने बताइएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतको छनौट गरे पनि मतदान केद्र भने तोकिसकेको छैन् । नियुक्ती प्रदान गर्दा मतदान केन्द्र तोकेर खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयले सहायक कर्मचारी र सहयोगी कर्मचारीको नामावली पनि एक÷दुई दिनमै सार्वजनिक गरिने जनाएको छ ।