विज्ञप्ती ।
मलंगवा – जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति सर्लाहीले जिल्लामा आचारसंहिता विपरीत प्रयोग भएका चुनाव प्रचारप्रसार सामग्री २४ घण्टाभित्र हटाउन आग्रह गरेको छ ।
समितिले मंगलबार दिउँसो एक विज्ञप्ती जारी गर्दै दल तथा उम्मेदवारलाई आचारसंहिताको उल्लंघन हुने गरी प्रयोग गरिएका प्रचार सामग्री हटाउन अनुरोध गरेको हो । समितिका सदस्य सचिव एवं जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख निर्मल पोख्रेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा जिल्लाभित्र अनुगमनका क्रममा गेट, पोष्टर, पप्पलेट, ब्यानर, तोरण, होडिङ बोर्ड, झण्डा, भारतीय नम्वर प्लेटको सवारी साधन प्रयोग भएको जानकारीमा आएकाले त्यस्ता कार्य नगर्न संलग्न सबैलाई सचेत गराइएको छ । यही अवस्था रहे कानून एवं निर्देशिका भन्दा उम्मेद्वार माथि रहेको हो भनी जनमानसमा नकारात्मक प्रभाव परेको बुझ्न आएको विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा आचारसंहिता उल्लंघन गर्दा निर्वाचन आचारसंहिता २०७९ को दफा ३२ (ज) मा भएको व्यवस्था अनुसार सक्षम निकायबाट प्रक्रिया बमोजिम उम्मेदवारी खारेज गर्न गराउने प्रक्रियासम्मको अनुसन्धान सिफारिस लगायतका कानून बमोजिमका सम्पूर्ण विधि, मान्यता अबलम्बन गर्न समिति बाध्य हुने उल्लेख छ । त्यस्तै, मंगलबार दिउँसो नै सदरमुकाम मलंगवामा बसेको समितिको बैठकले २४ घण्टाभित्र अर्थात भोली दिउँसोसम्ममा आचारसंहिता विपरीतका चुनाव प्रचारप्रसार सामग्री स्वत : स्फूर्त नहटाए प्रहरी लगाएर हटाउने निर्णय गरेको छ ।
जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिमा सर्लाहीका मुख्य निर्वाचन अधिकृत तथा सर्लाही जिल्ला अदालतका मुख्य न्यायाधीश कविप्रसाद न्यौपाने संयोजक र प्रमुख जिल्ला अधिकारी (सीडीओ) थानेश्वर गौतम सह–संयोजक छन् । यस्तै, जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्मल पोख्रेल सदस्य सचिव, जिल्ला प्रहरी प्रमुख एसपी प्रवीण पोखरेल सदस्य, कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मलंगवाका प्रमुख जीवन पुरी अनुगमन अधिकृत छन् ।
त्यसैगरी, क्षेत्र नं. १ का निर्वाचन अधिकृत प्रदीपकुमार उपाध्याय, क्षेत्र नं. ३ का निर्वाचन अधिकृत बशिष्ट कुमार घिमिरे र क्षेत्र नं. ४ का निर्वाचन अधिकृत शम्भुप्रसाद बराल आमन्त्रित सदस्य रहेका जिल्ला निर्वाचन अधिकारी निर्मल पोख्रेलले बताए ।