आगजनीबाट जलेको कागजात । (तस्बिर : मुकेश झा)
बसन्तपुर – सर्लाहीको हरिपूर्वा नगरपालिका–९, बसन्तपुरमा सोमबार राति अज्ञात व्यक्तिले वडा कार्यालयमा आगजनी गर्दा कार्यालय भित्ररहेका सम्पूर्ण कागजात जलेर नष्ट भएका छन् ।
नचिनेका मानिसले झ्यालबाट भित्र प्रवेश गरी आगजनी गरेका वडाध्यक्ष सुरेन्द्र महतोले उज्यालो अभियानसँग बताएका छन् । उनले आगजनीबाट वडासँग रहेका सम्पूर्ण पुराना कागजात जलेर खरानी भएको बताए ।

वडा कार्यालयसँग भएका सम्पूर्ण कागजात जलेपछि अनलाईनमा इन्ट्री नभएका पुराना ‘रेकर्ड’ सबै नष्ट भएको भन्दै वडाध्यक्ष महतोले चिन्ता व्यक्त गरेका छन् । आगजनीमा संलग्न व्यक्तिको पहिचान हुन सकेको छैन् ।
मध्यरातमा अचानक वडा कार्यालयबाट धुँवाको मुस्लो निस्किएपछि छेउछाउका स्थानीय भएर आगो निभाएका थिए । इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलवासले घटनाको सम्वन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।

आगजनी भएको वडा कार्यालयमा मंगलबार दिउँसो हरिपूर्वाका मेयर विनोद साह तेली, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने र बयलवासका प्रहरी निरीक्षक रोशन थापाले स्थलगत निरीक्षण गरेको छ ।