प्रतिकात्मक तस्बिर
मलंगवा – सोमबार साँझ लक्ष्मी पूजा गर्नेक्रममा सर्लाहीका तीन फरक–फरक स्थानमा आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय मलङ्गवालाई प्राप्त सूचना अनुसार रामनगर गाउँपालिका र ईश्वरपुर नगरपालिकामा लक्ष्मी पूजा गर्दा आगलागी भएको हो । रामनगर गाउँपालिका–१, बस्ने दुःखी सहनीको फुसको एक कोठे घरमा विद्युत्को तार सर्ट भइ आगलागी भएको स्थानीयले बताएका छन् ।
आगलागीबाट बनिबुतो गरेर खाने सहनी परिवारको फुसले छाएको घरसहित घरभित्र रहेको अन्न, कपडा सबै जलेर नष्ट हुँदा ७० हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । रामनगर गाउँपालिकाकै वडा नं. ४, बहुअर्वा बस्ने रामचन्द्र रामको घरमा लक्ष्मी पूजा गर्दा बालिएको मैनबत्तीबाट आगो सल्किँदा घरभित्रका सरसामग्रीमा सामान्य क्षति पुगेको छ ।
त्यस्तै, ईश्वरपुर नगरपालिका–१, शकरगञ्जमा स्थानीय रामदेव साह सोनारको घरमा मैनबत्तीबाट आगो सल्किँदा दुई लाख ७० हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीले घरको एउटा कोठामाथिको छानो, कोठाभित्र रहेका एलिडी, बक्स पलङ्गसहित ६० हजार रुपियाँ नगद पनि जलेको पीडितले बताएका छन् ।
प्रहरीका अनुसार सर्लाहीमा अघिल्लो वर्षहरुमा जस्तो लक्ष्मी पूजामा हुने आगलागीका घटना यो वर्ष कम भएको छ ।