मानबहादुर खड्का
लालबन्दी – सर्लाही क्षेत्र नं. १ मा बागी उम्मेदवारी दर्ता गराउने नेता मानबहादुर खड्कालाई नेकपा एमाले लालबन्दी नगर कमिटीले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशित गरेको छ ।
यसअघि नै खड्का आफैले मनोनयन दर्ताको केही दिन पछाडि पत्रकार सम्मेलन गरी एमाले छाडिसकेको घोषणा गरेका छन् । यस क्षेत्रमा एमाले–जसपा गठवन्धनबाट निवर्तमान सांसद तथा जसपाका प्रमुख सचेतक प्रमोद साह उठेका छन् ।
एमाले लालबन्दी नगर कमिटीका अध्यक्ष बिक्रम भण्डारीले सोमबार प्रेस विज्ञप्ती जारी गरी लालबन्दी नगरपालिकाको पूर्व मेयर खड्काले पार्टी विधान विपरीत प्रतिनिधि सभा सदस्यमा बागी उम्मेदवारी दिएकाले आइतबार बसेको नगर कमिटीको बैठकले खड्कालाई पार्टीको साधारण सदस्य धरी नरहने गरी निष्काशित गरिएको उल्लेख गरेका छन् ।

यो निर्णयको अभिलेख कायम गर्न जिल्ला कमिटीलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ । एमालेले विज्ञप्ती निकालेर खड्कामाथि कारवाही गरिएको जनाए पनि भित्री रुपमा भने एमालेका कतिपय नेताहरुले उनलाई साथ दिएको श्रोतले दावी गरेको छ ।
खड्कालाई एमालेको आम कार्यकर्तादेखि नेताहरुकै मौन समर्थन रहेको बताइन्छ । यस्तै, विज्ञप्तीमा जिल्ला कमिटी सदस्य ललिताकुमारी बान्तवा (शारदा) लाई पनि पार्टी विधान विपरीतको गतिविधि गरिएको भन्दै पार्टीबाट निष्काशन गरिएको छ ।
नगर कमिटी अध्यक्ष भण्डारीले जारी गरेको विज्ञप्तीमा पार्टीको निर्णय विरुद्ध भित्रभित्रै लागि परी संदिग्ध गतिविधि गर्ने अन्य केही नेताहरुको हकमा पहिलो पटक लिखित वा मौखिक रुपमा सचेत गराउने, सच्चिने मौका दिने र त्यसपछि पनि सोही क्रियाकलापमा संलग्न रहेको पाइएमा पार्टीले कारवाही गर्ने उल्लेख छ ।