logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हरिपूर्वाको नगर सभा स्थगित, मेयर र प्रशासकीय अधिकृतलाई निर्वाचन आयोगको स्पष्टीकरण


  • उज्यालो अभियान

हरिपूर्वा – सर्लाहीको हरिपूर्वा नगरपालिकामा बुधबार बोलाइएको विशेष नगर सभा स्थगित भएको छ ।

निर्वाचन आयोगले विशेष नगर सभा अधिवेशन स्थगित गर्न निर्देशन दिएपछि बल्लतल्ल राजनीतिक सहमती जुटाई बुधबारका लागि बोलाइएको सभा पनि स्थगित गरिएको हो । नगर सभा हुन नसक्दा बजेट पारित नभएकाले नगरपालिकाको आर्थिक कारोवार ठप्प छ ।

शिक्षक–कर्मचारीले तलब पाएका छैनन् । गएको साउनदेखि तलब नपाएपछि शिक्षकहरु विद्यालयमा ताला लगाई नगरपालिका कार्यालयमा ३ दिनसम्म धर्नामा बसे ।

बुधबार नगर सभा गर्ने र ४ गतेसम्म निकास दिने सहमतीपछि उनीहरुले बुधबार भने धर्ना दिएनन् । शिक्षकले कार्यालयमै आई धर्ना सुरु गरेपछि मेयर विनोदकुमार साह र विपक्षी वडाध्यक्षबीच सहमती जुटाई बुधबार नगर सभा बोलाइएको थियो ।

निर्वाचन आयोगले पत्र पठाएपछि नगर सभा रोकिएको प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले उज्यालो अभियानसँग बताए । निर्वाचन आचारसंहिताविपरीत नगर सभा अधिवेशन बोलाइएपछि मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई दुई दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशनसमेत दिइएको आयोगले जनाएको छ ।

नगरसभा सदस्य र केही पार्टीका तर्फबाट प्राप्त उजुरीको आधारमा निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (ख) को प्रतिबन्धात्मक वाक्यांश बमोजिमको अवस्था नपरी आयोगको सहमतिबेगर वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका नीति तथा योजना ल्याउन नमिल्ने स्मरण स्पष्टीकरणमा गराइएको छ । आयोगका अनुसार असोज १२ गतेका लागि विशेष अधिवेशन आह्वान गरी गणपुरक संख्या नपुगेको कारण उक्त मितिमा सञ्चालन हुन नसकी कात्तिक २ गतेका बोलाइएको अधिवेशन हाललाई स्थगित गर्न निर्देशन दिइएको हो ।

‘नेपालको संविधानबमोजिम स्थानीय तहको कार्यकारिणी अधिकार नगरकार्यपालिकाले र व्यवस्थापकीय अधिकार नगरसभाले गर्ने विषयमा कुनै दुईमत छैन । यद्यपि निर्वाचनको सम्मुखमा विशेष अधिवेशन बोलाई नयाँ नीतिगत निर्णय गर्नु निर्वाचन आचारसंहिताको अनुकूल हुँदैन ‘, स्पष्टीकरणपत्रमा भनिएको छ ।

हरिपूर्वामा मेयर अल्पमतमा रहँदा बजेट पारित हुन सकेको छैन् । स्थानीयहरु मेयर र वडाध्यक्षबीच भागबण्डा नमिल्दा नगर सभाबाट बजेट पास हुन नसकेको आरोप लगाउँछन् ।

हरिपूर्वामा यसअघिका शेयर शियाराम रायको ५ वर्षिय कार्यकाल पनि विवादै विवादमा बितेको थियो । जनप्रतिनिधिबीचको टकराबले नगरपालिका विकासमा निकै पछि परेको नगरवासी गुनासो गर्छन् ।