logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

लेक लागेर ज्यान गुमाएका दम्पत्तिको अन्त्येष्टि, ७ महिनामा एकै परिवारका ५ जनाको मृत्यु


  • उज्यालो अभियान

लेक लागेर ज्यान गुमाएका योन्जन दम्पत्ति ।

पत्थरकोट – लमजुङको मेमेपोखरीबाट फर्किने क्रममा लेक लागेर मृत्यु भएका सर्लाहीको लालबन्दी नगरपालिका–१२, पत्थरकोटका एक दम्पतीको शव सोमबार घर ल्याएर अत्येष्टि गरिएको छ ।

मेमेपोखरी घुमेर फर्किने क्रममा पत्थरकोटस्थित स्याङबो डाँडाका २७ वर्षीय बुद्धिमान योन्जन र उनकी श्रीमती लमजुङको बेंसीसहर नगरपालिका १०, साँधु माईती भएकी २६ वर्षीया शर्मिला तामाङको लेक लागेर असोज १९ गते दसैंको टीकाको राति मृत्यु भएको थियो । मृतक योन्जन दम्पत्तिको शव ४ दिनपछि आइतबार हेलिकोप्टरमार्फत लमजुङको सदरमुकाम बेंसीसहर झारिएको थियो ।

सदरमुकाम बेंसीसहरबाट करिब साढे १ दिनको पैदलमा पुगिने उक्त ठाउँबाट सदरमुकामसम्म शव ल्याउन गाह्रो भएपछि आइतबार हेलिकोप्टरबाट उद्धार गरिएको त्यहाँको प्रहरीले जनाएको छ । दोर्दी र मर्स्याङ्दी गाउँपालिकाको सीमा क्षेत्रमा करिब ३ हजार ९ सय मिटर उचाइको च्यार्बो भन्ने ठाउँबाट आइतबार दिउँसो ३ बजेतिर शव निकालिएको उक्त काममा खटिएका लमजुङका इन्सपेक्टर विष्णु विकले बताए ।

उनका अनुसार सकुशल उद्धार गरिएकामध्ये बेंसीसहर नगरपालिका–१०, साँधुका अन्दाजी १८ वर्षीय करण तामाङ (शर्मिलाको काकाको छोरा) को मेडिकल कलेज भरतपुरको आईसीयुमा उपचार भइरहेको छ । दसैंको बेला ऐतिहासिक पर्यटकीय मेमेपोखरी गएर फर्किने क्रममा लेकाली क्षेत्रमै दम्पत्तिको मृत्यु भएको हो ।

लमजुङका डीएसपी प्रकाश श्रीमलका अनुसार दसैंको टीकाको दिन बुधबार मेमेपोखरीबाट फर्किंदै गर्दा बाटोमा हाईअल्टिच्युट (लेक लाग्ने) समस्या भएपछि योञ्जन गम्भीर बिरामी परेका थिए । अत्यधिक पानी परिरहेको अवस्थामा गम्भीर बिरामी श्रीमानलाई उद्धारका लागि हारगुहार गर्दै मोबाइल नेटवर्क खोज्दै हिँडेकी श्रीमती तामाङले पनि त्यहीँ ज्यान गुमाएकी थिईन् ।

करिब ४ हजार मिटर आसपास जुम्रोडाँडा क्षेत्रमा ढलेका योन्जन भोलिपल्ट बिहीबार मृत भेटिएका थिए । श्रीमती तामाङ भने हराईरहेकी थिईन् ।

प्रहरी, सेना र स्थानीयले खोज्ने क्रममा श्रीमानको शव भएको ठाउँबाट करीब १५ मिनेट तल शनिबार मध्याह्नतिर श्रीमतीको शव फेला परेको डीएसपी श्रीमलले बताए । लमजुङको दोर्दी र दूधपोखरी गाउँपालिकाको सिरानमा पर्ने मेमेपोखरी पुग्न लमजुङ सदरमुकाम बेंसीसहरबाट कम्तीमा ३ दिन लाग्छ ।

मेमेपोखरीबाट करिब साढे १ दिन हिँडेपछि आइपुग्ने ठाउँमा शव फेला परेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले शव निकालेर केही तल ल्याए पनि त्यसपछि ल्याउन नसकिएपछि हेलिकोप्टरबाट ल्याइएको प्रहरीले जनाएको छ ।

मेमेपोखरी घुम्न शर्मिलाका बुबा, शर्मिलाका आफ्नै भाइ र काकाको छोरा पनि गएका थिए । करिब साढे १ दिनको बाटो पार गर्ने क्रममा ३ जनाले अगाडि बास खोज्न जाने सल्लाह भएपछि श्रीमान्–श्रीमती पछि रहेर विस्तारै आउँदै थिए ।

त्यही बेला श्रीमानलाई लेक लागेपछि यसबारे सूचना दिन र हारगुहार गर्न डाँडाकाँडा खोज्दै हिँडेर मोबाइलमा सम्पर्क गर्न गएकी श्रीमती रातको समय आफै अल्मलिएपछि सम्पर्कविहीन बनेकी थिईन् । असोज १६ गते लेकतर्फ गएका उनीहरु नवमीका दिन मेमेपोखरी पुगेको र दशमीको दिन फर्किंदै थिए ।

मृतक योन्जन दम्पत्तिको शव लमजुङबाट सोमबार बिहान घर ल्याएर पत्थरकोटस्थित लखन्देही खोलामा अन्त्येष्टि गरिएको लालबन्दी नगरपालिका–१२, का वडाध्यक्ष दुर्गाबहादुर आलेले उज्यालो अभियानसँग बताए । वडाध्यक्ष आलेका अनुसार योन्जन परिवारमा छोटो अवधिमै ५ जनाको मृत्यु भइसकेको छ ।

७÷८ महिना अघि मृतक वुद्धिमान योन्जनकी जेठी भाईजुले झुण्डिएर आत्महत्या गरेकी थिईन् । श्रीमतीको मृत्युको शोकपछि केही सातामै वुद्धिमानका जेठो दाजु राजुको पनि मृत्यु भएको थियो । त्यसपछि वुद्धमानकी आमाको पनि मृत्यु भयो ।

आमा, जेठो छोरा र बुहारी र अहिले वुद्धिमानका श्रीमान, श्रीमतीको मृत्युपछि योन्जन परिवारमा ठूलो बज्रपात भएको स्थानीयले बताएका छन् ।