logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

एमाले–जसपा गठवन्धन : सर्लाहीका ४ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार छानिए


  • उज्यालो अभियान

लालबन्दी – अन्तिम समयमा आएर चुनावी तालमेलको निर्णय गरेका नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) ले सर्लाहीमा आ–आफूले पाएको निर्वाचन क्षेत्रमा उम्मेदवार छानेका छन् ।

सर्लाहीमा जसपाले क्षेत्र नं. १ र ४ तथा एमालेले क्षेत्र नं. २ र ३ पाएको छ । जसपाले क्षेत्र नं. १ बाट निवर्तमान सांसद प्रमोद साहलाई टिकट दिएको छ ।

क्षेत्र नं. २ मा पर्ने मलंगवाको खुटौना गाउँमा घर भएका साह फेरि एक पटक क्षेत्र नं. १ बाट एमाले–जसपा गठवन्धनको उम्मेदवार बन्दै चुनाव लड्ने भएका छन् । साहले २०७४ मा तत्कालिन राजपाबाट एमालेका स्वर्गिय ध्रुव गौतम र कांग्रेसका शम्भुलाल श्रेष्ठलाई पराजित गरेका थिए ।

यस्तै, जसपाले क्षेत्र नं. ४ मा नेता राकेश मिश्रलाई टिकट दिएको छ । मिश्र २०७४ सालमा पनि तत्कालिन राजपाबाट प्रत्यासी थिए ।

त्यस्तै, नेकपा एमालेले आफ्नो भागमा परेको क्षेत्र नं. २ बाट जिल्ला अध्यक्ष राजनारायण साह र क्षेत्र नं. ३ बाट संविधान सभाका सदस्य हरि उप्रेतीलाई टिकट दिएको छ । प्रदेशतर्फ क्षेत्र नं. ३ (क) मा हरिवन नगरपालिकाका निवर्तमान मेयर गणेश प्रसाद प्रसाईले टिकट पाएका छन् । प्रदेशमा यो क्षेत्रबाट २०७४ मा तत्कालिन एमाले (हाल नेकपा एकीकृत समाजवादी) का डिल्लीप्रसाद उप्रेती बिजयी भएका थिए ।

एमाले–जसपा गठवन्धनमा प्रदेशतर्फ भने अन्य उम्मेदवारको टुंगो लागेको छैन् । प्रदेशतर्फ ८ वटा निर्वाचन क्षेत्रमध्ये एमालेले क्षेत्र नं. १ ख, क्षेत्र नं. २ क, क्षेत्र नं. ३ क र क्षेत्र नं. ४ क लिने र अन्य चारवटा क्षेत्र जसपालाई छाड्ने सहमती भएको छ ।