घारिबथान – सर्लाहीको उत्तरी चुरेभेगमा पर्ने ईश्वरपुर नगरपालिका–१२, घारिबथानस्थित एकनाले डाँडामा आज (शुक्रबार) दिउँसो पानीसँगै परेको चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।
चट्याङ लागेर स्थानीय अन्दाजी ४०/४५ वर्षका लालबहादुर वाईबाको ज्यान गएको हो । घटनास्थल पुग्न घारिबथानस्थित चुरेफेदीबाट करिव २ घण्टा पैदल हिँडेर जानुपर्छ । घारिबथानदेखि १ घण्टाको दुरीमा पर्ने गुइडुङ गाउँमा बस्ने मृतक लालबहादुरका नातेदार वीरबहादुर थिङले लालबहादुरको मृत्यु भएको पुष्टी गरेका छन् ।
अन्य व्यक्तिलाई चट्याङ लागे÷नलागेको भनी एकिन हुन सकेको छैन् । शुक्रबार दिउँसो ३ बजेपछि चट्याङसहित निकै ठूलो पानी परेको र चट्याङ लागेर लालबहादुरको मृत्यु भएकोबारे अहिले साँझ (७ः३० बजेतिर) मात्रै जानकारी आएकाले आफूहरु गुईडुङबाट घटनास्थलमा पुग्न नसकेको थिङले बताए । उनका अनुसार सजिलै हिड्न सक्ने व्यक्ति घारिबथानबाट एक घण्टा चुरे डाँडा चढेर गएपछि गुइडुङ पुग्न सक्छ । फेरि गुईडुङबाट अझ एक घण्टा हिँडेपछि मात्रै आज घटना भएको एकनाले डाँडा भन्ने ठाउँमा पुगिन्छ । घटनास्थलमा फोन समेत लाग्न गाह्रो पर्छ ।
आफूहरु भोली (शनिबार) बिहान घटनास्थलतर्फ जाने थिङले बताए । केही दिनअघि मात्रै गुइडुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थियो ।
आज दिउँसोपखदेखि साँझसम्म नै सर्लाहीको उत्तरी चुरेभेगमा पर्ने घारिबथान, परवानिपुर, पत्थरकोट, नारायणखोला लगायत क्षेत्रमा चट्याङसहित भारी वर्षा भएको थियो ।