logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीको उत्तरी भेगमा चट्याङसहित २ घण्टादेखि भारी वर्षा


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको उत्तरी भेगमा २ घण्टादेखि भारी वर्षा भइरहेको छ ।

उत्तरी चुरेभेगमा पर्ने कालिन्जोर, परवानिपुर, पत्थरकोट, नारायणखोला, अत्रौलीलगायत क्षेत्रमा चट्याङसहित ठूलो पानी परिरहेको स्थानीयले जानकारी दिएका छन् । यस्तै, पूर्व–पश्चिम राजमार्ग क्षेत्रको लालबन्दी, नवलपुर, हरिवन, बागमतीलगायत क्षेत्रमा पनि पानी परिरहेको छ ।

सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा भने हल्का मात्रै वर्षा भइरहेको स्थानीयले बताएका छन् । दिउँसोसम्म जिल्लाभरको मौसम सफा भई घाम लागेपनि अपरान्हबाट भने अचानक मौसम बद्ली भई पानी परिरहेको हो ।

भीषण वर्षा भएपछि जिल्लाको सबैभन्दा दुर्गम भेगमा पर्ने नारायण खोलामा केही दिनअघि मात्रै बनाएको खोलाको बाटो ठूलो बाढी आएर बगाएको छ । दशैँकै मुखमा वडा कार्यालयले जेसिबी लगाएर सम्याएको खोलाको बाटो बाढी आएर छिनभरमै बगाएपछि नारायण खोलावासी निराश बनेका छन् ।

नारायण खोलाका स्थानीय रोशन दोङले पत्थरकोटबाट नारायणखोलासम्म जानै नसक्ने गरी लखन्देही र डाईनी खोलामा वारपार भएर बाढी आइरहेको दिएका छन् ।

यता, अहिलेको पानीले भर्खरै पसाउन लागेको धान बालीलाई फाइदा पुगेको किसानले बताएका छन् । तर, पाकेपछि धान काटेर खेतमै फिँजाएका केही किसानको धानमा भने यो पानीले क्षति पुर्याएको छ ।