logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

दशैँमा टीका लगाउन मामाघर आएकी बालिकाको ट्याक्सीले ठक्कर दिँदा मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

घारिबथान – सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर घारिबथानमा ट्याक्सीको ठक्करबाट ६ वर्षकी एक बालिकको ज्यान गएको छ ।

दशैँमा घारिबथानस्थित दोङखोरिया गाउँमा रहेको मामाघरमा टीका लगाउन आएका बेला ट्याक्सीले ठक्कर दिँदा लालबन्दी नगरपालिका वडा नं. १४ मा पर्ने नारायण खोलास्थित डाईनी परेवाभीरका सोमबहादुर दोङकी छोरी ६ वर्षीया ज्ञानी भन्ने सविना दोङको ज्यान गएको हो । बालिकालाई हिजो (बुधबार) दशैँको टीकाको दिन अपरान्ह ४ः३० बजेतिर घारिबथानबाट फूलजोरस्थित पूर्व–पश्चिम राजमार्गमा निस्कन आउँदै गरेको बा २ ज २१०२ नम्वरको ट्याक्सीले ठक्कर दिएको इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार बालिकालाई अटोबाट झर्ने बित्तिकै ट्याक्सीले ठक्कर दिएको थियो । दुर्घटनापछि अचेत भएकी बालिकालाई गढिमाई अस्पताल लालबन्दीमा सामान्य उपचार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका उनका आफन्त रोशन दोङले उज्यालो अभियानसँग बताए ।

बालिकको शव पोष्टमार्टम सकिए पश्चात आफूहरु भर्खरै (बिहीबार साँझ) जनकपुरबाट निस्किएको दोङले जानकारी गराएका छन् । सबै प्रक्रिया पूरा गर्दा शव पोष्टमार्टम गर्न बिहीबार दिनभर लागेको दोङले बताए ।

नारायण खोला घर भएपनि मृतक बालिका लालबन्दीस्थित ठूलिममीसँगै कोठामा बसेर पढ्दै आएकी थिईन् । मृतक बालिकाका बुवा र आमा दुवै बैदेशिक रोजगारीमा छन् । दुई छोरीमध्ये कान्छी छोरीको यसरी सवारी दुर्घटनामा परेर मृत्यु भएपछि सबिनाका बुवा-आमा दुवै घर फर्किने तयारीमा रहेका आफन्तले बताएका छन् ।

दुर्घटनामा संलग्न ट्याक्सी र त्यसका चालकलाई नियन्त्रणमा राखी कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइएको बयलवासका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रोशन थापाले बताए ।