हरिवन – बुवा इन्द्रबहादुर घिसिङ अपाङ्ग भएपछि बेसहारा जस्तै बन्नुभएका सर्लाहीको चुरेभेगस्थित हरिवन नगरपालिका–१, कोठीखोलाका वीरसिंह घिसिङको पालनपोषण र शिक्षादिक्षाका लागि लायन्स क्बल अफ काठमाडौं लर्ड वुद्धले आर्थिक सहयोग गरेको छ ।
क्लबका पदाधिकारीले सोमबार हरिवनका जनप्रतिनिधिसहित अन्य सरोकारावालालाई सँगै लिएर कोठीखोलास्थित इन्द्रबहादुरको घरमै पुगी इन्द्रबहादुरलाई नै १ लाख १ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । २०७२ को बिनाशकारी भूकम्पमा परी कम्मर भन्दा मुनीको भाग नचल्ने भएपछि इन्द्रबहादुर थला परेका छन् । उनी थला परेको र आमाले पनि छाडेर गएकाले वीरसिंह साहाराविहीन नै बनेका छन् ।
क्लबका पदाधिकारी तथा सदस्यले वीरसिंहको पालनपोषण र शिक्षादिक्षामा टेवा पुगोस् भन्ने उद्देश्यले हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल), हरिवन १ का वडाध्यक्ष टमबहादुर घिसिङ, २ का वडाध्यक्ष अर्जुन योन्जन, ४ का वडाध्यक्ष केशवराज थापालगायतसहित घरमै पुगेर चेक हस्तान्तरण गरे । जनप्रतिनिधिसहित क्लबका पूर्व अध्यक्ष रामबहादुर श्रेष्ठ, हालका सचिव तिर्थराज मोक्तान, क्लबका डाइरेक्टर क्षितिज पौडेललगायत इन्द्रबहादुरको घर कोठीखोला पुग्नुभएको स्थानीय युवा सुवास श्रेष्ठले जानकारी दिए ।
हरिवन १ का वडाध्यक्ष टमबहादुर घिसिङले सहयोगी युवाहरुप्रति आभार व्यक्त गरे । वडाध्यक्ष घिसिङकै पहलमा इन्द्रबहादुरका छोरा वीरसिंहलाई हरिवनस्थित एक विद्यालयमा भर्ना गरी पठनपाठनको व्यवस्था मिलाइएको छ ।
वडाध्यक्ष घिसिङले हरिवन नै निवासी नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्रीको विशेष पहलमा इन्द्रबहादुरका लागि पटक–पटक खाद्यान्न सहयोग गर्नेदेखि छोरा वीरसिंहलाई विद्यालय भर्ना गराई पठनपाठनका लागि मद्धत पुगिरहेको भन्दै पत्रकार क्षेत्रीसहित अन्य सहयोगी भावका मनकारीहरु प्रति धन्यवाद ज्ञापन गरेका छन् ।
यस्तै, कार्यक्रममा वीरसिंहका लागि कपडा समेत प्रदान गरिएको थियो ।