घारिबथान – सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर घारिबथानमा शनिबार साँझ सम्पन्न प्रथम मधेश प्रदेश पुरुष भलिबलको उपाधि धनुषाले जितेको छ ।
घारिबथानस्थित वडा कार्यालयको खेल मैदानमा भएको फाइनल भीडन्तमा सर्लाहीलाई ३–० को सोझो सेटमा पराजित गर्दै धनुषा बिजेता बनेको हो । जितसँगै धनुषाले एक लाख १ हजार नगदसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । उपबिजेता सर्लाहीले भने ७५ हजारमा चित्त बुझाएको छ ।
त्यस्तै, बारालाई ३–० को सोझो सेटमा पराजित गरी तेस्रो भएको महोत्तरीले २५ हजार हात पारेको छ । प्रतियोगिताको बिजेता, उपबिजेता, तेस्रो भएको टिम र उत्कृष्ट खेलाडीलाई ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्य, कालिन्जोरका वडाध्यक्ष देविबहादुर खत्री, आयोजक कालिन्जोर युवा समूहका अध्यक्ष सुवास खड्का लगायत भएर पुरस्कार वितरण गरेका प्रतियोगिताको आर्थिक समितिका संयोजक भिम खड्काले जानकारी दिए ।
जिल्लाको उत्तर पूर्वी चुरेभेगमा पर्ने कालिन्जोरका युवाले सहयोग संकलन गरेर पहिलो पटक प्रदेशका आठै जिल्लाको टिमलाई सहभागी गराई भलिबल प्रतियोगिता सम्पन्न गराएका हुन् ।