logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हरिपूर्वा र विष्णुका शिक्षक–कर्मचारीले दशैँमा तलब पाएनन्


  • उज्यालो अभियान

केही समयअघि वडाध्यक्षहरु विरुद्ध आयोजित पत्रकार सम्मेलनमा बोल्दै विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल यादव र साथमा उपाध्यक्ष उषादेवि । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – बजेट पारित नहुँदा सर्लाहीको हरिपूर्वा नगरपालिका र विष्णु गाउँपालिकाका कर्मचारी र शिक्षकले दशैँमा तलब पाएनन् ।

वृद्धवृद्धा, एकल महिला, अपाङ्ग लगायत पनि मुख्य चाडमा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित भएका छन् । जिल्लाको दक्षिण–पूर्वी भेगमा पर्ने हरिपूर्वा नगरपालिकामा गत असारमै नगरसभा प्रारम्भ भए पनि त्यसपछि कार्यपालिकाको बैठक नै बस्न सकेको छैन् ।

यस्तै, जिल्लाको दक्षिणी भेगस्थित सीमावर्ती क्षेत्रमा पर्ने विष्णु गाउँपालिकाले झन गाउँ सभा प्रारम्भ नै गर्न सकेको छैन् । गाउँ तथा नगर सभा सम्पन्न गरी बजेट पारित नहुँदा यि दुवै पालिकाका कर्मचारी र विद्यालयका शिक्षकले दशैँ जस्तो मुख्य चाडमा पनि तलब नपाएका हुन् ।

हरिपूर्वा नगरपालिकाका नगरप्रमुख विनोद कुमार साहले बजेट पारित गर्न पटक–पटक बैठक बोलाइएको भए पनि अन्य दलका कार्यपालिका सदस्य उपस्थित नभएका कारण बजेट पारित गर्न नसकिएको बताए । उनले कर्मचारी, शिक्षकलगायतले दशैँ अघि नै तलब खान पाउन् भनेर बुधबार मात्रै पनि बैठक बोलाइएको, तर कांग्रेसबाहेक अन्य दलका कार्यपालिका सदस्य उपस्थित नभएका दावी गरे ।

हरिपूर्वाका १९ जना कार्यपालिका सदस्यमध्ये ९ जना कांग्रेसका, ७ जना जनता समाजवादी पार्टी (जसपा) का र ३ जना लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का छन् । यस्तै, जिल्लाको विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल यादवले दशैँमा तलब खुवाउन नसके पनि तीहार र छठमा भने कर्मचारी–शिक्षकको तलब तथा सामाजिक सुरक्षा भत्ता नरोकिने बताए ।

हरिपूर्वामा झैँ अल्पमतमै रहनुभएका विष्णु गाउँपालिकाका अध्यक्ष यादवले गाउँसभाको तयारी भइरहेको बताए । यादवले यसो भनेको लामो समय भएपनि सभा गराउन सकेका छैनन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मलंगवाका प्रमुख जीवन पुरीले विष्णु गाउँपालिका र हरिपूर्वा नगरपालिकाबाहेक अन्य १८ वटा पालिकाको भने तलब, भत्ता निकासा भएको उज्यालो अभियानसँग बताए ।