घारिबथान – सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरमा जारी प्रथम मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि आज (शनिबार) सर्लाही र धनुषाले खेल्दै छन् ।
फाइनल खेल कालिन्जोरस्थित वडा कार्यालय घारिबथानको खेल मैदानमा हुने छ । कालिन्जोर यूवा समूहको आयोजनामा असोज १३ गतेदेखि जारी प्रतियोगितामा हिजो भएका सेमिफाइनल खेलमा बारालाई तीन–शुन्यको सेटमा पराजित गर्दै सर्लाही तथा महोत्तरीलाई तीन–शुन्यकै सोझो सेटमा पराजित गर्दै धनुषा फाइनलमा प्रवेश गरेका हुन् ।
फाइनल खेल हुनुअघि प्रतियोगिताको तेस्रो उपाधिका लागि आजै बारा र महोत्तरीले पनि प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको बिजेताले १ लाख १ हजार, उपबिजेताले ७५ हजार र तेस्रो हुने टिमले २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजक कालिन्जोर युवा समूहले जनाएको छ ।
फाइनल खेलसँगै प्रतियोगिताको आज नै समापन समेत गरिने आर्थिक समितिका संयोजक भिमबहादुर खड्काले उज्यालो अभियानसँग बताए ।