logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीको नारायण खोलामा एक बालक मृत भेटिए


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

लालबन्दी – सर्लाहीको सबैभन्दा दुर्गम क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४, नारायण खोलामा बिहीबार ८ वर्षका एक बालक मृत भेटिएका छन् ।

हिजो बुधबारदेखि बेपत्ता नारायण खोलाका सुकमान पाख्रिनका छोरा वर्ष ८ का सोनाम पाख्रिन बिहीबार दिउँसोख त्यहाँको इनार खोल्सी भन्ने स्थानमा मृत फेला परेका हुन् । मृत्युको वास्तविक कारण खुल्न सकेको छैन् । कुनै बाहिरी चोटपटक नदेखिएका कारण बालकको डुबेर ज्यान गएको हुनसक्ने आशंका गरिए पनि यसको पुष्टी भने हुन सकेको छैन् ।

बालकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल लगिएको छ । वडाध्यक्ष छेनामसिंह घिसिङ आफै बालकको शव पोष्टमार्टम गराउन मलंगवा पुगेका छन् । म शव पोष्टमार्टम गराउन अस्पताल आएको छु, उनले बिहीबार राति अबेर उज्यालो अभियानसँग भने । वडाध्यक्ष घिसिङले अहिले नै बालकको मृत्युको कारण खुल्न नसकेको सुनाए ।

मृतक बालकको परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको नारायण खोलाका स्थानीय रोशन दोङले बताएका छन् । बालकको शव फेला परेपछि लालबन्दीमै बस्ने नारायण खोलाका वडाध्यक्ष छेनामसिंह घिसिङसँगै इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) शान्तराम कार्की लगायत पत्थरकोटदेखि २ घण्टासम्म ट्याक्टर चढेर नारायण खोलाको शिरमा पर्ने घटनास्थलसम्म पुगेका थिए । हात्तीसुँढे भन्ने ठाउँमा ट्याक्टर राखेर जनप्रतिनिधि र प्रहरीको टोली त्यहाँबाट पनि आधा घण्टा पैदल हिँडेर घटनास्थलमा पुगेको थियो ।

मृतकको शव समेत २ घण्टासम्म ट्याक्टरमा राखेर पत्थरकोटसम्म ल्याई, त्यहाँबाट एम्बुलेन्समा हालेर मलंगवा पठाइएको हो । लालबन्दीका प्रहरी निरीक्षक कार्कीले तत्काल हेर्दा बालकको डुबेर ज्यान गएको जस्तो देखिएको बताउँछन् । तत्काल हेर्दा बाहिर चोटपटक छैन्, बरु शब गंगटाले खान थालिसकेको रहेछ, कार्कीले उज्यालोसँग भने, हामीले घटनाको विषयमा अनुसन्धान गरिरहेका छौँ, पोष्टमार्टम रिपोर्टबाट थप केही खुल्ला ।

सडक नै नपुगेको नारायण खोलामा पानी पर्न रोकिएपछि हिउँदका महिनामा मात्रै खोलाको बगरबाट गाडी चल्ने गरेका छन् । अहिले दशैँका लागि गाडी नचल्दा स्थानीयहरु चार–पाँच घन्टा पैदल हिँडेर लालबन्दीसम्म किनमेलका लागि आइरहेका छन् ।

खोलाको बगर सम्याएर आजदेखि नारायण खोलाको सत्रकठ्ठा भन्ने ठाउँसम्म बस पठाए पनि पटक–पटक बस फसिरहेको नारायण खोलाका शिक्षक राजन मगरले बताएका छन् ।