logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

पर्यटन दिवस : भारतीय पर्यटकलाई दशगजामै पुगेर स्वागत


  • उज्यालो अभियान

भारतीय पर्यटकलाई दशगजामै पुगेर स्वागत गरिँदै । (तस्बीर : उज्यालो अभियान)

मलंगवा, असोज ११ – पर्यटन दिवसको अवसर पारेर सर्लाहीमा मंगलबार भारतीय पयर्टकलाई नेपाल–भारत सीमा दशगजामै पुगेर स्वागत गरिएको छ ।

होटल तथा पर्यटन व्यवसायी संघले मंगलबार बिहान सोनवर्षा–मलंगवा नाका हुँदै नेपाल प्रवेश गरेका भारतीय पर्यटकलाई फूलमाला, अविर पहिर्याउँदै मिठाई खुवाई स्वागत गरेको हो । ३ दिनसम्म विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाउने र भारतीय पर्यटकलाई यहाँ रहेका पर्यटकीयस्थलसम्म ल्याई तिनको प्रचारप्रसार गर्ने उद्देश्यले दशगजामै पुगेर भारतीय पर्यटकलाई स्वागत गरिएको होटल तथा पर्यटन व्यवसायी संघ मधेस प्रदेशका कोषाध्यक्ष बैकुण्ठ सापकोटाले जानकारी दिए ।

संघका सर्लाही जिल्ला अध्यक्ष हिराकाजी योन्जनसहितका होटल तथा पर्यटन व्यवसायीले दशगजामा पुगी भारतीय पर्यटकलाई न्यानो स्वागत गरेका हुन् । पर्यटन दिवसकै अवसरमा सर्लाहीका होटल व्यवसायीले ३ दिनसम्म पर्यटकलाई खान र बस्नमा १५ देखि २५ प्रतिशतसम्म छुटको समेत व्यवस्था गरी सहुलियतको सेवा उपलब्ध गराएका छन् ।

होटल तथा पर्यटन व्यवसायीले ३ दिने कार्यक्रम अन्तर्गत असोज ९ गते सोनवर्षाबाट नेपाल प्रवेश गर्ने दशगजा क्षेत्रमा पुगेर सरसफाई गरेका थिए ।