हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा शुक्रबार सामुदायिक भवनको उद्घाटन गरिएको छ ।
प्रदेशसभा सदस्य बेची लुंगेलीको निर्वाचन क्षेत्र विकास कोषको रकमबाट १४ लाख रुपैयाँको लागतमा निर्मित भवनको प्रदेशसभा सदस्य लुंगेली आफैले उद्घाटन गरेकी हुन् । सामुदायिक भवन निर्माण भएपछि स्थानीयलाई विवाह, व्रतवन्धलगायत सामाजिक कार्यका लागि भवनको अभाव टरेको छ ।
तराई मधेसका विपन्न परिवारलाई शुभकार्य पर्दा आफ्नो घरमा प्रशस्त आँगन नहुँदा समस्या हुँदै आएको छ । सोही समस्यालाई मध्यनजर गरी स्थानीयको माग अनुसार सामुदायिक भवन निर्माण गरिएको प्रदेशसभा सदस्य लुंगेलीले बताए ।
भवन निर्माण समितिका अध्यक्ष वीरेन्द्र राय यादवको अध्यक्षता तथा प्रदेशसभा सदस्य लुंगेलीको प्रमुख आतिथ्यतामा आयोजित सामुदायिक भवन उद्घाटन कार्यक्रममा हरिपुरका निवर्तमान नगरप्रमुख जमिरुद्धिन मन्सुर, हरिपुर ४ का वडाध्यक्ष संजयप्रसाद साह, हरिपुर ८ का वडाध्यक्ष हरिबहादुर थापा, नेकपा (एकीकृत समाजवादी) पार्टीका लालबन्दी नगर कमिटी अध्यक्ष राजन काफ्ले, सचिव बज्रमणि लामा, अनेमसंघ समाजवादीकी केन्द्रीय सदस्य गीता माझी, महिला नेतृ कपिसा लो, नेता रमेश बलम्पाकी, राजेन्द्र धामी, रामबाबु साह, रामवली यादव, रामपुकार साहलगायतको उपस्थिति रहेको थियो ।