logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

मेयर आचार्यले अढाई लाख खर्चेर दमाईको खुट्टा अप्रेसन गराइदिए


  • उज्यालो अभियान

उपचारको प्रवन्ध मिलाई अस्पतालमै पुगेका मेयर आचार्यलाई धन्यवादसहित नमस्कार गर्दै साने दमाई ।

सखुवनी – सर्लाहीको ईश्वरपुर नगरपालिकाका नगरप्रमुख (मेयर) मनोजकुमार आचार्यले एक जना अतिविपन्न दलित पुरुषको व्यक्तिगत अढाई लाख रुपैयाँ खर्चेर खुट्टाको अप्रेसन गराईदिएका छन् ।

ईश्वरपुर नगरपालिका–५, सखुवनीका साने दमाई एक महिनाअघि घरमै लडेर खुट्टा फ्याक्चर भई घाइते भएका थिए । कपडा सिलाएर परिवार पाल्ने दमाईले पैसाको अभावमा उपचार गराउन नसकी घरमै थलिएर बसेका थिए ।

नगरप्रमुख आचार्यले सोबारे जानकारी पाए लगत्तै दमाईलाई बर्दिवासस्थित जनसेवा अस्पतालमा लगेर भर्ना गराई उपचारको प्रवन्ध मिलाईदिएका हुन् । खुट्टामा स्टिल हाली सफल अप्रेसनपश्चात दमाईलाई शुक्रबार २२ औँ दिनमा अस्पतालले डिस्चार्ज गरेको छ ।

नगरप्रमुख आचार्य आफै बर्दिवास पुगेर चिकित्सकको सल्लाह अनुसार दमाईलाई अस्पतालबाट डिस्चार्ज गराई घर ल्याएका हुन् । आचार्यले यसअघि अस्पताललाई २ लाख रुपैयाँ बुझाइदिसकेका थिए भने शुक्रबार बाँकी ५० हजार समेत बुझाएर दमाईलाई घर ल्याइदिएका हुन् ।

अस्पताललाई साने दमाईको उपचार खर्च बुझाइदिँदै मेयर आचार्य ।

आफ्ना एक नगरवासी खुट्टा भाँच्चिदा पनि उपचार नपाएर घरमै थलिएको सुनेपछि आफूले सम्पूर्ण उपचार खर्च बेहोरेर उपचार गराई घर ल्याएको नगरप्रमुख आचार्यले उज्यालो अभियानसँग बताए । नगरप्रमुख आचार्यको सहयोगमा सानेले उपचार पाउँदा दमाई परिवार खुसी भएको छ ।

आचार्यले नगरप्रमुखमा निर्वाचित हुनुअघि पनि यस्ता सामाजिक कार्य गरेका थिए ।