logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

लालबन्दी, मलंगवा र हरिपूर्वाका प्रमुख प्रशासकीय अधिकृत फेरिए


  • उज्यालो अभियान

लालबन्दीका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत बासुदेव तिमल्सिना (बायाँ) नयाँ प्रशासकीय अधिकृत तारानाथ लुईटेललाई स्वागत गर्दै ।

लालबन्दी – सर्लाहीको लालबन्दी, मलंगवा र हरिपूर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।

लालबन्दी नगरपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट उप–सचिव तारानाथ लुईटेल हाजिर भएका छन् । लुईटेललाई सोमबार नगरप्रमुख बासुदेव अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, अन्य जनप्रतिनिधि र कर्मचारीले कार्यालयमा स्वागत गरेका छन् ।

यसअघिका प्रमुख प्रशासकीय अधिकृत तथा उप–सचिव बासुदेव तिमल्सिनाको भने फेरि शिक्षा शाखामै पदस्थापन भएको छ । लुईटेल प्रशासन सेवातर्फको र तिमल्सिना शिक्षा सेवातर्फको उप–सचिव हुन् ।

यस्तै, सदरमुकाम मलंगवा नगरपालिकामा भाषा आयोगबाट उप–सचिव गेहनाथ गौतम प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भई आएका छन् । गौतमलाई पनि सोमबार नै मलंगवाका नगरप्रमुख नागेन्द्रप्रसाद यादव, उपप्रमुख सकुन्तलादेवी साह, वडाध्यक्षसहित अन्य जनप्रतिनिधि र कर्मचारीले स्वागत गरे ।

मलंगवामा नयाँ हाजिर भएका नयाँ प्रशासकीय अधिकृत गेहनाथ गौतम ।

मलंगवामा यसअघि उप–सचिव होमनाथ सुवेदी प्रमुख प्रशासकीय अधिकृत थिए । सुवेदीको मलंगवा नगरपालिकामै दरबन्दी कायमै छ ।

उनी जिल्ला समन्वय समितिको समन्वय अधिकारी समेत हुन् । सुवेदीले मलंगवा नगरपालिका र जिसस दुवै हेर्दै आएका थिए ।

त्यसैगरी, जिल्लाको हरिपूर्वा नगरपालिकामा सिन्धुलीको सुनकोशी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने सरुवा भई आएका छन् । हरिपूर्वाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालको गौशाला नगरपालिका महोत्तरीमा सरुवा भएको छ ।

हरिपूर्वामा हाजिर भएका नयाँ प्रशासकीय अधिकृत वसन्त न्यौपानेलगायत ।

केहीदिन अघि नै हाजिर भएका हरिपूर्वाका नयाँ प्रशासकीय अधिकृत न्यौपानेलाई सोमबार नेपाल निजामती कर्मचारी युनियनले स्वागत गरेको छ ।