फाइल तस्बीर ।
नवलपुर – सर्लाहीको नवलपुरमा दुईवटा जंगली हात्ती देखा परेका छन् ।
बिहीबार राति ईश्वरपुर नगरपालिकाको सागरनाथ क्षेत्रमा एक्कासी देखा परेका जङ्गली हात्ती शुक्रबार बिहानपख भने लालबन्दी नगरपालिका–१, स्थित नवलपुरमा देखा परेका स्थानीयले बताएका छन् । दुईवटा हात्ती दिनभर नवलपुरको सर्पदंश उपचार केन्द्र नजिककै जङ्गलमा बसेका स्थानीय भिम पौडेलले जानकारी दिनुभयो ।
बस्ती नजिकैको जङ्गलमा हात्ती देखिएपछि स्थानीय त्रसित भएका छन् । हात्ती देखिएपछि स्थानीय शुक्रबार दिनभर घाँस दाउराका लागि जङ्गल जान सकेनन् ।
यि हात्ती सागरनाथ जङ्गल हुँदै महोत्तरीबाट सर्लाहीतर्फ आएको अनुमान गरिएको छ । दुई दिन अघिसम्म महोत्तरीको बर्दिवास र गौशाला नगरपालिकामा दुईवटा जङ्गली हात्तीले स्थानीयको घर भत्काउने र बालीनाली नष्ट गरेको थियो ।
हरेक वर्ष यही समयमा सर्लाही र महोत्तरीमा जङ्गली हात्तीले आतंक मच्चाउने गरेका छन् । डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख मन्जुर अहमदले हात्ती देखिएपछि वन कार्यालय र प्रहरीमा खबर गर्न आग्रह गरे ।
हात्तीलाई नचलाउन र नजिस्काउन वन कार्यालयले आग्रह गरेको छ । उनले बस्ती हात्तीलाई जंगलतर्फ नै धपाउन कर्मचारी परिचालन गरिसकिएको बताए ।
इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक शान्तराम कार्कीले आफू पनि हात्ती देखिएको स्थानमा पुगेर आएको र बस्तीतर्फ आउन खोजे धपाउनका लागि वन कार्यालयसँग समन्वय गरिरहेको बताए । यस क्षेत्रमा बर्सेनि जङ्गली हात्ती आउने स्थानीय बताउँछन् ।
लालबन्दी नगरपालिका–१, नवलपुरका वडाध्यक्ष हरिबहादुर भट्टराईले दिनभर नजिकैको जंगल छेउछाउमा बसेका हात्तीले अहिले साँझ स्कुल छेउको गाउँमा एउटा घर भत्काइसकेको उज्यालो अभियानलाई जानकारी दिए । उनले सबै मिलेर हात्तीलाई जंगलतर्फ धपाइएको र सारा गाउँले त्रसित भई भेला भएर एकै ठाउँमा बसिरहेको बताए ।
वडाध्यक्ष भट्टराईले रातभरमा हात्तीले के–के गर्ने हो ? भन्ने चिन्ता थपिएको बताए ।