बागमती – सर्लाहीको बागमतीमा बुधबार दिउँसो स्थानीयले गरेको चक्काजाम १ घण्टापछि खुलेको छ ।
मंगलबार राती बागमती नगरपालिका १२ मा करेन्ट लागेर एक जना ट्रक चालकको ज्यान गएको थियो । सो घटनामा बागमती १२ कै २९ वर्षीय प्रकाश वाइवाको ज्यान गएको हो । छड बोकेको प्रदेश २–०३–००१ ख २३१६ नम्वरको ट्रक रोकेर राति खाना खाएपछि ट्रकको ढालामा गएर आराम गर्न खोज्दा चालक वाइवालाई बागमती १२ मै विभिन्न व्यवसायीले संचालन गरेको क्रसर उद्योगमा जोडिएको थ्रिफेज लाईनको तारमा छुँदा करेन्ट लागेर ज्यान गएको हो ।
स्थानीयले क्रसर उद्योगले लापरवाही ढंगले लाईन लगेकाले वाईवाको ज्यान गएको भन्दै बुधबार दिउँसो क्रसर उद्योगविरुद्ध प्रदर्शन गर्दै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बागमती पुलमा चक्काजाम गरेका हुन् । प्रहरीले यस विषयमा शुक्रबार क्रसर उद्योगका संचालकलाई बोलाएर छलफल गराउने सहमतीपछि स्थानीयले सडकको जाम खुल्न दिएका छन् ।
यस्तै, मृतकको परिवारलाई क्रियाखर्चबापत तत्काल क्रसर मालिकले एक लाख रुपैयाँ दिने सहमती जनाएका छन् । मृतक वाईवाको शव पोष्टमार्टमका लागि मंगलबार राति नै चन्द्रनिगाहपुर अस्पताल, रौतहट पठाइएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।