निजामती सेवा दिवस–२०७९ का अवसरमा मलंगवामा निकालिएको प्रभातफेरि । (तस्बीर : उज्यालो अभियान)
मलंगवा – “व्यावसायिक र सृजनशील प्रशासन : विकास, समृद्धि र सुशासन” भन्ने मूल नारासहित सर्लाहीमा पनि बुधबार १९ औँ निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

दिवसका अवसरमा सदरमुकाम मलंगवामा प्रभातफेरि, सेवा निवृत्त भएका कर्मचारीलाई सम्मान, सरकारी कार्यालयमा सेवा लिन आएकामध्ये पहिलो सेवाग्राहीलाई फूलमाला र खादाले स्वागत, प्रत्येक कार्यालयमा उत्कृष्टमध्ये एक कर्मचारीलाई पुरस्कृत लगायतका कार्यक्रम गर्दै निजामती सेवा दिवस–२०७९ मनाइएको हो ।

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिन्छ ।

सदरमुकाम मलंगवास्थित बजार क्षेत्रमा प्रभातफेरि निकाली जिल्ला समन्वय समितिको सभा हलमा पुगेर मन्चको कार्यक्रम गरिएको थियो ।

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन सर्लाहीका अध्यक्ष उमेश मिश्रको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो । सो कार्यक्रममा जिल्लाभित्र एक वर्षको अवधिमा सेवा निवृत्त भएका ७ जना कर्मचारीलाई कदर–पत्रसहित सम्मान गरियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गौतमले राष्ट्रभक्त कर्मचारीप्रति समाजमा स्थापित हुँदै गएको नकारात्मक सोँचलाई कर्मचारीले सबल र सार्थक सेवा दिएर बदल्नुपर्नेमा जोड दिए । उनले सेवाग्राहीको करबाट तलब भत्ता लिने कर्मचारीलाई मुस्कानसहितको सेवा प्रवाहमा जोड दिन आग्रह समेत गरे ।

मूल समारोह समितिको निर्णय अनुसार जिल्लामा सरकारी कार्यालयहरुले उत्कृष्ट कर्मचारीलाई पुरस्कृतसहित अन्य कार्यक्रम गरेका छन् । यस्तै, दिवसकै अवसरमा बुधबार साँझ कार्यालयहरुमा दीप प्रज्वलन गरिएको छ ।
