मलंगवा – निजामती सेवा दिवस–२०७९ को पूर्वसन्ध्यामा मंगलबार जिल्ला प्रशासन कार्यालय मलंगवा परिसरमा सरसफाई गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमसहित अन्य कर्मचारीको उपस्थितिमा कार्यालय परिसर सरसफाई गरिएको हो । ‘व्यावसायिक र सृजनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने मूल नारासहित निजामती सेवा दिवस बुधबार सर्लाहीमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ ।
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन, कर्मचारी मिलन केन्द्रलगायत सरोकारवाला कर्मचारी संघसंगठनले बुधबार दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेका हुन् । कर्मचारी मिलन केन्द्र सर्लाहीका सचिव सुनिल कुशवाहाका अनुसार बुधबार बिहान प्रभातफेरि गर्ने, प्रत्येक कार्यालयले पहिलो सेवाग्राहीलाई फूलमाला र अविर लगाएर स्वागत गर्ने, आ–आफ्नो कार्यालयका उत्कृष्टमध्ये एक कर्मचारीलाई पुरस्कृत गर्ने र बेलुका जिल्लास्थित सबै सरकारी कार्यालयमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरिएको छ ।
यस्तै, बुधबार नै मुख्य कार्यक्रम अन्तर्गत जिल्ला समन्वय समिति मलंगवाको सभा हलमा मन्चको कार्यक्रम गरी २०७८ भदौ २२ गतेदेखि २०७९ भदौ २० गतेसम्म अवकाश प्राप्त कर्मचारीलाई प्रशंसा पत्रसहित सम्मान गर्ने र कर्मचारी मिलन केन्द्रद्वारा तयार पारिएको मिलन डायरी–२०७९ विमोचन गरिने कार्यक्रम छ ।